काठमाडौं । गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्रको ध्रुवीकरण सतहमै देखिएको छ। गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति गठन भए पनि विशेष महाधिवेशनको विपक्षमा रहेका केही प्रभावशाली नेताहरू भने औपचारिक रूपमा बाहिरै बसेका छन्।
राजनीतिक रूपमा असहमति जनाउने, प्रतिवाद गर्ने वा कानुनी उपचार खोज्ने विकल्प सबैलाई खुला रहे पनि निर्वाचनको सुनिश्चितता भइसकेपछि धेरै नेताहरूले फरक मत थाती राखेर चुनावमा जाने निर्णय गरे। विशेष महाधिवेशनमा असहमति राखेका कतिपय नेताहरू उम्मेदवार नै बने भने केहीले प्रचारप्रसारमा सहभागी हुने संकेत दिएका थिए।
तर निवर्तमान सभापति शेरवहादुर देउवा, पूर्व महामन्त्रीहरू प्रकाशमान सिह कृष्ण प्रसाद सिटाैला शशांक कोइराला लगायतका नेताहरू भने हालसम्म सार्वजनिक रूपमा चुनावी प्रचारमा सक्रिय देखिएका छैनन्। विगतमा उनीहरू चुनाव लड्दा अरू नेताहरूले प्रचारमा खुलेर साथ दिएको सन्दर्भमा यसपटक उनीहरूको मौनताले कार्यकर्तामाझ चासो र गुनासो दुवै बढाएको छ।
उम्मेदवारी दर्तादेखि सर्वोच्चसम्म
उम्मेदवारी दर्ताकै दिन शेरवहादुर देउवा र पूर्णवहादुर खड्काले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। दुवैले उम्मेदवार नबन्ने स्पष्ट पारिसकेपछि अन्तरिम आदेश जारी नभएर नयाँ सभापति गगन थापा कै हस्ताक्षरबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढ्यो। अन्तिम समयसम्मको अन्योल चिर्दै धेरै नेताहरू चुनावी मैदानमा उत्रिए।
विशेष महाधिवेशनमा असहमत रहे पनि शेखर कोइराला विमलेन्द्र निधी विजयकुमार गच्छेदार प्रकाश शरण महत ज्ञानेन्द्र वहादुर कार्की लगायतका नेताहरू भने कांग्रेस उम्मेदवारका रूपमा उभिएका छन्।
देउवाको मौनता र सुदूरपश्चिमको असर
२०४८ सालदेखि लगातार सात पटक डडेल्धुराबाट निर्वाचित हुँदै आएका शेरवहादर देउवा यसपटक उम्मेदवार बनेका छैनन्। डडेल्धुरामा युवा नेता नैनसिंह महर उम्मेदवार छन्। देउवाको अनुपस्थितिले विशेषतः सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई असर पर्न सक्ने आकलन गरिएको छ। निकटस्थहरूका अनुसार देउवा यसपटक न प्रचारमा जाने, न मत हाल्नै जाने मनस्थितिमा छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा २०६४ यता लगातार विजयी हुँदै आएका प्रकाशमान सिंह पनि यसपटक चुनावी अभियानमा देखिएका छैनन्। कार्यकर्ताहरूले उनको अनुपस्थितिलाई गम्भीर रूपमा लिएका छन्, यद्यपि उनकी पत्नी सिर्जना सिंह केही क्षेत्रमा प्रचारमा पुगेकी छन्।
खड्का, सिटौला र शशांक पनि निष्क्रिय
निवर्तमान कार्यवाहक सभापति पूर्णवहादुर खड्काले सामाजिक सञ्जालमार्फत कांग्रेस उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे पनि त्यसपछि प्रचार अभियानमा सक्रिय देखिएका छैनन्।
पूर्व महामन्त्री कृष्ण प्रसाद सिटाैला झापा–३ मा उम्मेदवार नभएपछि सार्वजनिक रूपमा प्रचारमा देखिएका छैनन्। त्यस्तै शशांक कोइराला पनि औपचारिक चुनावी कार्यक्रममा सहभागी भएका छैनन्।
थापाको आग्रह र सकारात्मक संवाद
यसबीच सभापति गगन थापाले चुनावी कार्यक्रमका दौरान वरिष्ठ नेताहरू निष्क्रिय बस्न नहुने बताएका छन्। “हिजो उहाँहरू उम्मेदवार हुँदा निःशर्त सहयोग गर्ने साथीहरू आज उम्मेदवार बन्नुभएको छ, उहाँहरूको जितका लागि सबै नेताहरूको सहयोग आवश्यक छ,” थापाको भनाइ थियो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले भने देउवा लगायत नेताहरूसँग सकारात्मक संवाद भइरहेको र निकट भविष्यमा वक्तव्य आउने सम्भावना रहेको बताएका छन्।
पार्टीभित्रको असन्तुष्टि र मौनताबीच चुनावी अभियान तीव्र बन्दै जाँदा वरिष्ठ नेताहरूको भूमिकाले आगामी परिणाममा कत्तिको प्रभाव पार्छ भन्ने विषय अहिले कांग्रेस वृत्तमा चासोको केन्द्र बनेको छ।





































