दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

2

द हेग, नेदरल्याण्ड्स । भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाइलाई स्वागत गरेको छ । दुवैलाई जुन १, २०२६ मा रिहा गरिएको हो ।

अभियानले भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको आममाफीलाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ तथा विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको बताउनुभयो ।

उहाँका अनुसार यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तर्राष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ ।

यद्यपि, अभियानले रिहाइपछिको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेको छ । विज्ञप्तिअनुसार पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवैलाई नेपाल प्रवेश गर्न अनुमति दिइएन । त्यसपछि उनीहरू भारत–नेपाल सीमास्थित पनितान्की क्षेत्रमा अलपत्र परेका र अन्ततः भुटान फर्किन बाध्य भएका थिए । हाल उनीहरू भारतमा आफन्तको संरक्षणमा अस्थायी रूपमा बसिरहेका बताइएको छ ।

अभियानले यो घटनाले राज्यविहीनता र जबर्जस्ती विस्थापनको जोखिम झेलिरहेका पूर्व राजनीतिक कैदीहरूका लागि दीर्घकालीन र मानवीय समाधानको आवश्यकता औंल्याएको जनाएको छ ।

जीसीआरपीपीबीले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई उनीहरूलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति असहमति व्यक्त गरेको छ । अभियानका अनुसार रिहा गरिएका व्यक्तिलाई औपचारिक परिचयपत्र, कारागारबाट रिहा गरिएको प्रमाणपत्र वा कानुनी हैसियत पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराइएको थिएन ।

विज्ञप्तिमा भनिएको छ, “यसले उनीहरूलाई थप असुरक्षित बनाएको छ र संरक्षण, मानवीय सहायता तथा स्वतन्त्र आवतजावतको अधिकार प्रयोग गर्न कठिनाइ सिर्जना गरेको छ ।”

अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तर्राष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा स्वतन्त्र आवतजावत सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।

दुई राजनीतिक कैदीको रिहाइलाई महत्वपूर्ण मानवीय कदमका रूपमा स्वागत गरिए पनि अभियानले आफ्नो प्रयास अझै समाप्त नभएको स्पष्ट पारेको छ । अभियानले भुटानका कारागारमा रहेका बाँकी २८ राजनीतिक कैदीको तत्काल र बिना शर्त रिहाइको माग दोहोर्‍याउँदै यस दीर्घकालीन मानवअधिकार मुद्दाको न्यायोचित र मानवीय समाधानका लागि सम्बन्धित सबै पक्षलाई पहल गर्न आह्वान गरेको छ ।