Home राजनीति कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो, युवा लक्षित क्रियाशील सदस्यता अभियानलाई तीव्रता
काठमाडौं, कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउन देशका ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।
कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण तथा व्यवस्थापन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन केन्द्रीय प्रतिनिधिहरू खटाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीका अनुसार यस अभियानको मुख्य उद्देश्य नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्दै विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम् सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको छ। आगामी महाधिवेशनमा युवाको सक्रिय भूमिका बढाउने रणनीतिअन्तर्गत सदस्यता विस्तार अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पुगेर सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण, अनुगमन तथा आवश्यक निर्देशन दिने जिम्मेवारी निर्वाह गर्नेछन्। पार्टी कार्यालयले प्रतिनिधिहरूलाई आगामी असार २० गतेभित्र सम्बन्धित जिल्लामा अनिवार्य रूपमा उपस्थित भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।
कांग्रेसले महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै संगठन विस्तार, सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण अभियानलाई देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ। पार्टी नेतृत्वले क्रियाशील सदस्यताको आधारमै महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले सदस्यता वितरणलाई विशेष महत्वका साथ अघि बढाइएको जनाएको छ।
यस अभियानबाट युवा, महिला तथा नयाँ पुस्ताको सहभागिता बढ्दै संगठनलाई थप गतिशील र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास कांग्रेसले व्यक्त गरेको छ।
Related