गुठी सम्बन्धी कानुन तथा साबिक लगत विषयक एक दिने प्रशिक्षण हुँदै 

0
ललितपुर । गुठी सम्बन्धी कानुन तथा साबिक लगत विषयक एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
देवानी कानुन सरोकार समाज, नेपाल तथा उच्च अदालत बार एसोसिएसन पाटनको संयुक्त आयोजनामा ‘गुठी सम्बन्धी कानुन तथा व्यवस्था र साबिक लगत सम्बन्धी जानकारीमूलक एक दिने प्रशिक्षण कार्यक्रम’ हुने भएको हो ।
उच्च अदालत पाटनको सभा हलमा उक्त कार्यक्रम हुन लागेको देवानी कानुनी सरोकार समाजले जानकारी दिएको छ । समाजका अनुसार आगामी असार १२ गते दिनको १ बजे देखि उक्त कार्यक्रम सञ्चालन हुने छ ।
गुठीसम्बन्धी कानुनी व्यवस्था, साबिक लगतको अभिलेख, व्यवहारिक समस्या तथा कानुनी प्रक्रियाबारे जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा कानुन व्यवसायी, न्यायिक क्षेत्रका सरोकारवाला, गुठी सम्बन्धी विषयमा कार्यरत व्यक्तिहरू तथा इच्छुक सहभागीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा गुठी सम्बन्धी कानुन तथा व्यवस्था र साबिक लगत सम्बन्धी जानकारीमूलक प्रशिक्षण कार्यक्रममा उच्च अदालत पाटनका माननीय न्यायाधीश राजु कुमार खतिवडा, र नेपाल बारका कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता जगतवहादुर कार्कीले प्रशिक्षण दिनुहुने आयोजकले जानकारी दिएका छन् ।
आयोजकले सम्बन्धित विषयमा रुचि राख्ने कानुन व्यवसायी, अधिवक्ता, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई लाभ लिन अनुरोध गरेको छ।