खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा अकबरे खुर्सानी खेती उल्लेखनीय रूपमा विस्तार भएको छ। किसानलाई बीउ, बिरुवा तथा प्राविधिक सहयोग उपलब्ध गराइएपछि यसको सकारात्मक परिणाम देखिन थालेको हो।
नगरपालिकाले सम्भावित खेतीयोग्य क्षेत्रका कृषकलाई अनुदानमा अकबरे खुर्सानीको बीउ–बिरुवा वितरण गर्नुका साथै आवश्यक प्राविधिक परामर्श प्रदान गरेको थियो। सोही कार्यक्रमअन्तर्गत गरिएको खेतीबाट अहिले उत्साहजनक उत्पादन हुन थालेको छ।
नगरपालिका–९, सल्लेका अगुवा किसान चित्र राईले ३ रोपनी क्षेत्रफलमा लगाएको अकबरे खुर्सानी अहिले बजार पठाउने तयारीमा रहेको छ। उहाँका अनुसार नगरपालिकाबाट प्राप्त बीउ, प्राविधिक सहयोग र आफ्नै निरन्तर मेहनतका कारण यस वर्ष उत्कृष्ट उत्पादन हासिल गर्न सफल भएको हो।
स्थानीय सरकार र किसानबीचको सहकार्यले अकबरे खुर्सानीलाई यस क्षेत्रको महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित गर्दै कृषकको आम्दानी वृद्धि र जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।







































