नेपालकै पहिलो 18D सिनेमा इटहरीमा सञ्चालन, मनोरञ्जनको दुनियाँमा नयाँ आयाम

0

इटहरी। नेपालमै पहिलो पटक 18D सिनेमा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ। एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित उक्त सिनेमाको उद्घाटन अभिनेता Paul Shah ले एक विशेष समारोहबीच गर्नुभएको हो।

इटहरीस्थित सेन्टर प्लाजामा सञ्चालनमा आएको यस 18D सिनेमाले दर्शकलाई अत्याधुनिक प्रविधिमार्फत यथार्थ अनुभूति हुने रोमाञ्चक मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ।

सञ्चालक उमेश घोरासाइनेका अनुसार वयस्कतर्फ एक पटकमा १२ जना तथा बालबालिकातर्फ १५ जनासम्मले एकैसाथ खेल तथा चलचित्रको रोमाञ्चक अनुभव लिन सक्नेछन्। सिनेमाको टिकट शुल्क रु. ३५० निर्धारण गरिएको छ।

यहाँ दर्शकले जंगल यात्रा, रोबोटको संसार, समुद्री जीवहरूको रोमाञ्च, डरलाग्दा दृश्य, डायनासोरको दुनियाँ लगायत १७ प्रकारका फरक–फरक 18D अनुभव लिन सक्नेछन्। अत्याधुनिक दृश्य, ध्वनि र चलायमान सिटको संयोजनले वास्तविक अनुभव दिलाउने यस सिनेमाले विशेष गरी युवा र परिवारका लागि नयाँ आकर्षण थपेको छ।

सिनेमा हरेक दिन बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। पाँच वर्षभन्दा माथिका बालबालिकाले पनि यसको अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले निकट भविष्यमा बिर्तामोड र इलाममा समेत 18D सिनेमा विस्तार गर्ने योजना रहेको सञ्चालक घोरासाइनेले जानकारी दिनुभयो।

नेपालमा आधुनिक मनोरञ्जन प्रविधिको नयाँ सुरुआतका रूपमा हेरिएको यो 18D सिनेमाले पूर्वी नेपालको मनोरञ्जन क्षेत्रलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।