तिङ्लामा पुनः निर्वाचन नहुने

506

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान बहिष्कार गरेर ‘शून्य भोट’को स्थितिमा पुगेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा पुन निर्वाचन नहुने भएको छ ।

प्रदेश १, ५ र ७ का ३५ जिल्लाअन्तर्गतका ३ सय ३४ स्थानीय तहमा गत १४ असारमा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका सबै वडामा निर्वाचन सम्पन्न भए पनि वडा ६ तिङ्लामा भने ‘शून्य भोट’को अवस्था आएको थियो ।

निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिङ्लामा निर्वाचन गर्न कानुनी रूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुन सक्ने कानुनी व्यवस्था भएको भए पनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानुनमा नै उल्लेख नभएको बताए । ‘कुनै स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भएको भए पुनः निर्वाचन हुन्थ्यो त्यो अवस्था छैन,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

आयोगले सो वडामा पुनः मतदान नहुने बताएकाले अब जनप्रतिनिधि नभएको वडामा जनप्रतिनिधिको काम कसरी सम्पन्न हुन्छ भन्ने अन्योल बढेको छ । निर्वाचनसम्बन्धी कानुनमा स्थानीय तहका प्रतिनिधि रिक्त भए मात्र निर्वाचन हुने उल्लेख छ । तर निर्वाचन बहिष्कार गरेका कारण पद रिक्त भए पुनः निर्वाचनको व्यवस्था भने कानुनमा नभएका कारण यथा अवस्थामा निर्वाचन असम्भव रहेको आयोगको भनाइ छ ।

आयोगका सहसचिव नवराज ढकालले पनि आयोगले विधि र प्रक्रिया पु¥याएर निर्वाचन गरेकाले कुनै एक वडामा निर्वाचन नहुँदैमा पुनः निर्वाचन नहुने र त्यस्तो कानुनी व्यवस्था पनि नभएको बताए ।

स्थानीय भन्छन् :  प्रदेश र केन्द्र निर्वाचन पनि बहिष्कार गर्छौं

नेचासल्यान गाउँपालिकाका नवनिर्वाचित प्रमुख डुफकुमार बास्तोला भने जनताले निर्वाचनमा सहभागिता नजनाए पनि जनतासँगको सल्लाहमा कसरी अघि बढ्ने भन्ने निर्णय लिइने बताए । उनका अनुसार केन्द्रसँगको समन्वयमा तिङलावासीका माग सम्बोधन गर्ने विषयमा छलफल सुरु भइसकेको छ ।

तिङ्लाका स्थानीय राजनीतिक दल तथा स्थानीय मतदाताहरूले स्थानीय तहको सीमांकन गर्दा तिङ्लाका जनताको भावनाअनुसार नगरेर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएका छन् । संघर्ष समितिका सचिव प्रकाशबाबु कार्कीले स्थानीय तहको निर्वाचनमा मतदान बहिष्कार गरेको तिङ्लावासीले आफ्ना मागहरू पूरा नभए प्रदेश र केन्द्रको निर्वाचनमा पनि सहभागी नहुने बताए ।

‘हामीले हाम्रो तिङ्लालाई सदरमुकाम रहेको सोलु दूधकुण्ड नगरपालिकामा समायोजन गर्न माग गरेका हौं । स्थानीय जनताको चाहना पनि त्यही हो । तत्कालीन जिल्ला प्राविधिक समितिले गरेको निर्णयलाई उल्टाएर केन्द्रबाटै तिङ्लालाई नेचासल्यानमा राख्ने काम भयो । त्यो हामीलाई मान्य छैन,’ कार्कीले राजधानीसँग भने ।

१४ गते सम्पन्न स्थानीय तह तहको दोस्रो चरणको निर्वाचनमा नेचासल्यान गाउँपालिकाबाट प्रमुख पदमा नेकपा एमालेका डुफकुमार बाँस्तोला निर्वाचित भइसकेका छन् । तर तिङ्ला गाउँ पर्ने वडा ६ मा भने सो निर्वाचनमा कुनै पनि दलका उम्मेदवारले उम्मेदवारी नै दर्ता गराएका थिएनन् ।राजधानी दैनिक