नेपाली यू–१९ टोलीद्वारा नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमी पराजित

440

काठमाडौं । आइसीसी यू–१९ विश्वकप छनोटको तयारीको लागि भारतमा रहेको नेपाली यू–१९ टोलीले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपाली टोलीले नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १२१ रनले पराजित गरेको हो ।

नेपाली टोलीले दिएको  २५१ रनको लक्ष्य पछ्याएको फ्रेन्डस् एकेडमीले ३२ ओभरमा अलआउट हुदैँ १२९ रन मात्रै बनाउन सक्यो । फ्रेन्डस्का लागि सोनु गुजरले ३७ तथा बोबी यादबले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रण जोड्न सकेनन् । फ्रेन्डस्लाई सस्तैमा समेट्ने क्रममा नेपालका शाहव आलमले ३ तथा सन्दीप लामिछाने र रोहित पौडेलले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको नेपालले निर्धा्रित ४० ओभरमा ७ विकेट गुमाएर २५० रन बनाएको थियो । नेपालका लागि प्रनित थापाले ८७ तथा अनिल साहले ५०  रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिपेन्द्रसिंह ऐरी ४४ र रोहित पौडेलले २३ रन बनाए ।

नेपालली टोली आगामी जुलाईमा सिंगापुरमा हुने आइसीसी यू–१९ विश्वकपको छनोट खेलको तयारी गर्न भारत गएको हो । आइसीसी यू–१९ विश्वकप छनोट आगामी १६ देखि २५ जुलाईसम्म सिंगापुरमा हुने छ । छनोटमा नेपालसहित  आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तानले डबल राउण्ड रोबिनका आधारमा खेल्ने छन् । र, शिर्ष टोली न्युजिल्यान्डमा हुने आइसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् ।

छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा,  यू–१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास र  आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु  रहेको छनोट समितिले १८ सदस्य नेपाली टोली छनोट गरिसकेका छन् ।