Home समाचार आर्थिक अभावले खड्गजात्रा चलाउन कठिन

आर्थिक अभावले खड्गजात्रा चलाउन कठिन

0

दोलखामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको करिब पाँच सय वर्ष पुरानो खड्गजात्रा जोगाउन कठिन हुँदै गएको छ । गुठियारले परम्परागत रूपमा बुझाउँदै आएको कुत आउन छाडेपछि आर्थिक अभावका कारण ऐतिहासिक जात्रा सञ्चालनमा कठिनाइ भएको हो ।

भीमेश्वर नगरपालिका–२ स्थित दोलखा बजारमा विजयादशमीको भोलिपल्ट एकादशीका दिन मनाइने यो जात्रा पछिल्लो समय भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिको सहयोगमा सञ्चालन हुँदै आएको छ । समितिले करिब तीन लाख रुपियाँ सहयोग गरेपछि यस वर्ष जात्रा सञ्चालन गर्न सम्भव भएको जात्राका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार दोलखाका राजा इन्द्रदेव सिंहका कान्छा छोराका सन्तान भएको दाबी गर्ने परिवारले जात्राको परम्परा धान्दै आएका छन् । पुर्खाको विसं १५९० मा निधन भएदेखि गुठियारले बुझाउने कुतबाट जात्रा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । गणतन्त्र स्थापनापछि गुठियारबाट कुत आउन छाडेपछि व्यक्तिगत रूपमा रकम सङ्कलन गरेर जात्रा चलाउनुपर्ने अवस्था आएको छ ।

अहिले भीमेश्वरमा चढाइने बलि तथा पूजाबाट प्राप्त रकम र गुठी व्यवस्थापन समितिको सहयोगबाट मुस्किलले जात्रा सञ्चालन भइरहेको श्रेष्ठको भनाइ छ । जात्रा सञ्चालनमा आर्थिक कठिनाइ बढ्दै गएको उल्लेख गर्दै समितिका पूर्वअध्यक्ष जीवन श्रेष्ठले सरकारबाट आवश्यक सहयोग नहुँदा ऐतिहासिक परम्परा नै लोप हुने जोखिम बढेको बताउनुभयो । उहाँले जात्रा संरक्षणका लागि स्थानीय समुदायसँगै सरकारी निकायले पनि दायित्व लिनुपर्नेमा जोड दिनुभयो ।

परम्परागत सांस्कृतिक विधि अनुसार सञ्चालन हुने खड्गजात्रामा सेतो दौरा, जामा र फेटा लगाएका सहभागीले पहेँलो जमराको माला पहिरिन्छन् । स्थानीय कुसुले बाजाको तालमा खड्ग नचाउँदै उनीहरूले दोलखा बजारका विभिन्न टोलमा युद्धको अभिनय प्रस्तुत गर्छन् । जात्रामा साना बालकदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन् ।

स्थानीय किंवदन्ती अनुसार दानवहरूले देवीदेवता र मानिसलाई दुःख दिन थालेपछि दानवराज महिषासुरको वध गर्ने निर्णय गरिएको थियो । त्यसका लागि देवीदेवताले युद्धको तयारी गरी कालिञ्चोक भगवतीसँग सहायता मागेको र पछि दोलखा सहरको राइतीस्थित तीनधाराअगाडि यज्ञ सुरु गरेको मानिन्छ । यज्ञमा दानवले अवरोध गरेपछि देवीदेवता र दानवबिच युद्ध सुरु भएको किंवदन्ती छ ।

विजयादशमीका दिन महिषासुरको शिर छेदन गरी देवीदेवताले विजय प्राप्त गरेको सम्झनामा खड्गजात्रा मनाउने परम्परा रहेको स्थानीय बताउँछन् । जात्राको विधि नवमीदेखि नै सुरु हुन्छ । नवमीका दिन राजकुलेश्वर निमाविभन्दा केही तल रहेको चव्रmडबलीमा चामलको भातबाट चव्रmेश्वर बलिराजाको मूर्ति बनाई स्थापना गरिन्छ । त्यसपछि स्थानीय कुसुले समुदायबाट विधिपूर्वक राँगाको बलि दिइन्छ । कालरात्रिका दिन भीमेश्वर मन्दिरमा चार वटा राँगा बलि चढाउने चलन छ ।

तीमध्ये एउटा राँगाको घाँटीको नछिनाई त्रिपुरासुन्दरी मन्दिरसम्म लैजाने परम्परा छ । यसलाई महिषासुरलाई यातना दिएर वध गरिएको किंवदन्तीसँग जोडेर हेरिन्छ । भीमेश्वरमा राँगाको बलि दिनुलाई महिषासुरका अनुयायीको वधको प्रतीक मानिन्छ । नेवारी भाषामा यस प्रव्रिmयालाई ‘हामिल्टी तिमिल्ठो’ भनिने स्थानीय बताउँछन् ।

टीकाका दिन युद्धमा जानुपर्ने भए पनि टीका थाप्ने कार्यमा व्यस्त हुनुपर्ने भएकाले साँझ बाजागाजासहित युद्धको अभिनय गरिन्छ । त्यस व्रmममा महिषासुरको प्रतीकका रूपमा कुभिन्डो काट्ने चलन छ । एकादशीका दिन बिहानदेखि खड्गजात्राको मुख्य युद्धनाच सुरु हुन्छ ।

विभिन्न टोलमा युद्धनाच

जात्रामा मूल खड्गधारी, उनका दुई अङ्गरक्षक, युद्धका लागि बोलाइएका चेलीबेटीतर्फका तीन जना तथा मन्त्री र सेनापतिको भूमिका निर्वाह गर्ने याकरगट्ठा, बसललगायत सहभागी हुन्छन् । भीमबलि बोक्ने व्यक्ति पनि जात्रामा सहभागी हुन्छन् । याकरगट्ठा सेनापतिले खड्ग हस्तान्तरण गरी युद्धमा प्रस्थान गर्न सङ्केत गरेपछि राजकुलेश्वर मन्दिरबाट बाजागाजासहित युद्धनाच सुरु हुन्छ । चव्रmमण्डप, नक्छेटोलको बौद्ध चैत्य र कोर्छेटोलमा युद्धको अभिनय गर्दै सहभागी गुर्कोट र टँसिचा टोल पुग्छन् ।

युद्धका व्रmममा थकाइ लागेपछि सेनाले पिङ्कलटोलस्थित बालकुमारीसँग सहायता माग्ने र सहायता प्राप्त भएपछि भीमेश्वर डोबर डबलीमा पुगेर पुनः युद्ध गर्ने परम्परा छ । त्यहाँ दानव सेनाका प्रतीकका रूपमा रहेका चार वटा राँगालाई सामूहिक रूपमा खड्ग प्रहार गरी वध गरिन्छ ।

त्यसपछि कालीमन्दिर हुँदै त्रिपुरासुन्दरी मन्दिर पुगेर सहायता माग्ने परम्परा छ । किंवदन्ती अनुसार त्रिपुरासुन्दरी भगवतीले बालक वटुकभैरवलाई युद्ध गर्ने तरिका सिकाउँदै हातमा घन्ट, डमरु, खड्गलगायतका सामग्री थमाएर राँगाको आन्द्राको माला लगाइदिने गरेकी थिइन् ।

वटुकभैरवलाई अगाडि लगाएर सेनाहरू टुँगलटोल, नागेश्वर मन्दिर, पिङ्गलटोलको महादेवस्थान र राजकुलेश्वरस्थान हुँदै चव्रmराज बलिराजाको मूर्ति स्थापना गरिएको मण्डपमा पुग्छन् । भीमेश्वर र त्रिपुरासुन्दरीमा बलि दिइएका राँगाको टाउको त्यहाँ राखेर राजकुलेश्वर भगवती र वटुकभैरवले खड्ग प्रहार गरी शिर छेदन गर्ने परम्परा छ ।

युद्धमा विजय प्राप्त भएको खुसियालीमा सगुनबाजा बजाइन्छ । बेलुका त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले मन्दिरअगाडि सहभागीलाई टीका लगाइदिने चलनसमेत रहेको स्थानीय बताउँछन् ।

करिब पाँच सय वर्षदेखि चल्दै आएको खड्गजात्रा दोलखाको मात्र नभई नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सरकारले चासो दिनुपर्ने स्थानीयको माग छ । आर्थिक अभावका कारण जात्रा सञ्चालनमा कठिनाइ बढ्दै गएकाले यसको निरन्तरताका लागि दीर्घकालीन आर्थिक व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

एक हजारभन्दा बढी बलि

दोलखाको ऐतिहासिक भीमेश्वर मन्दिरमा बडादसैँका १० दिनमा गुठियार र सर्वसाधारणबाट एक हजार १९८ वटा बलि चढाइएको छ ।

भीमेश्वर नगरपालिका–२ स्थित मन्दिरमा विजयादशमीसम्म सर्वसाधारणका तर्फबाट ६१५ वटा बोका, ५४२ वटा हाँस तथा भाले र एउटा राँगो बलि चढाइएको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।

यस अवधिमा बलिपूजाबाट ४० हजार ९० रुपियाँ सङ्कलन भएको उहाँले बताउनुभयो । बोका बलिबापत ३० हजार ७५० रुपियाँ, हाँस तथा भालेबाट १० हजार ८४० र एउटा राँगोको बलिबापत पाँच सय रुपियाँ सङ्कलन भएको हो ।

त्यसै गरी गुठियारका तर्फबाट सात वटा राँगा, २८ वटा बोका, दुई वटा पाठी, एउटा थुमा, एउटा हाँस र एउटा भाले बलि चढाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गुठियारबाट चढाइने बलिको शुल्क भने नलिइने उहाँले स्पष्ट पार्नुभयो ।

मन्दिरमा यस अवधिमा सङ्कलित भेटी नेपाली सेना र जिल्ला प्रशासन कार्यालयलगायतका निकायको रोहबरमा गणना गर्ने तयारी भइरहेको छ । गणना सम्पन्न भएपछि उक्त रकम बैङ्कमा जम्मा गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।