एमालेका कारण राजनीति अनिर्णयको बन्दी :शाही

389

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए पनि दुई तिहाईले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् ।
शाहीले भने, “सबैसँग सहमति र छलफल गरेर नै संशोधन प्रस्ताव सदनमा टेबुल भएको छ, सकेसम्म एमालेको सहमतिमा पास गर्ने कोशिस गर्छौं, यदि भएन भने पनि हामी दुई तिहाईले यो प्रस्ताव पारित गराएरै छाड्छौं ।”

मुलुकमा विद्यमान रहेका समस्याहरुको समाधान गर्ने दायित्व वर्तमान सरकार र यसको नेतृत्वकर्ताहरुको भएकोले सरकारले अहिले घनिभुत प्रयासहरु गरिरहेको शाहीले जानकारी दिए ।
उनले एमालेकै कारण अहिले राजनीति अनिर्णयको बन्दी बनेको समेत आरोप लगाए । उनले भने, “एमालेले अतिवादी राष्ट्रवादको कुरा गरिरहेको छ, यसले गर्दा मुलुक समस्याबाट ग्रसित छ ।”
त्यस्तै उनले संविधान संशोधनमा मेरो गोरुको बाह«ै टक्का भनेर अडान नलिनपनि राजपालाई आग्रह गरे । उनले भने, “तपाईहरुले भनेको हुबहु कुराहरु अहिले नै पूरा हुन्छन् भन्ने छैन, त्यसैले तपाईहरुपनि लचक हुनुपर्छ ।”
उनले सदनमा विचाराधिन रहेको संशोधन विद्येयकको बारेमा एमालेले यो यो कारणले यो विद्येयकको औचित्य छैन भनेर भन्न सक्नुपर्ने होईन भने विरोधको नाममा विरोधमात्रै गर्न नहुने चेतावनी दिए । “संशोधन प्रस्ताव चाँडै पारित गर्नेगरि अहिले छलफल सुरु भएको छ, मलाई लाग्छ, छिट्टै संशोधन प्रस्ताव पारित हुन्छ,” शाहीले भने, “सके एमालेकै सहमतिमा हुन्छ, यदि एमाले आएन भनेपनि यो दुई तिहाईले पारित हुन्छ ।”