आषाढ शुक्लपूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ ।
पूर्णिमा व्रत शनिबार परे पनि गुरुप्रति सम्मान भाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सांयकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
‘शनिबार पाँच घडी अर्थात् बिहान ७ बजेर १६ मिनेटसम्म चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि परेको छ, आइतबार बिहान ९ बजेर चार मिनेटसम्म पूर्णिमा छ, यसैले सायंकालको व्रत शनिबार र उदय व्यापिनी पूर्णिमा भएका दिन मनाइने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व आइतबार मनाउने निर्णय गरिएको हो’ उनले भने ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको गौतमले जनाए ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । मातापिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवं विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै छन् ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्लपूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।
Related