उत्तर कोरिया — रिस्कहेज नामक पत्रिकालाई अन्तर्वार्ता दिँदै वित्तीय विश्लेषक जयन्त भण्डारीले उत्तर कोरियालीहरूले आफ्ना ‘प्रिय सम्मानित नेता’ किम जोङ–उनको पूजा गरेको आफूले देखेको बताएका छन् ।
‘उत्तर कोरिया एक पूर्ण तानाशाही भएको देश हो,’ भण्डारीले व्याख्या गरे । ‘उनीहरूले यो तानाशाहीलाई मैले कल्पना पनि गर्न नसक्ने गरी व्यवस्था गरेका छन् । मानिसहरूको दिमाग पूरै परिवर्तन गरिएको छ । त्यो देशले वास्तविक निर्वाचन ग–यो भने किम जोङ–उनले कुनै धाँधली नगरिकनै ९९ प्रतिशतभन्दा बढी मत ल्याएर जित्नेछन् । त्यहाँका मानिस उनको दास बनेका छन् ।’
भण्डारीले सन् २०१२ मा उत्तर कोरिया भ्रमण गरेका थिए । त्यतिखेर किम जोङ–उनले भर्खर शक्ति हात पारेका थिए । धेरैले सोचेविपरीत त्यहाँ यात्रा गर्न सजिलै छ । उनले बेइजिङमा रहेका एक ट्राभल एजेन्टकहाँबाट भ्रमण बूक गराए र त्यहाँको वास्तविकता जान्नका लागि भ्रमण गरे ।
आफ्नो दुईहप्ते भ्रमणमा उनले त्यहाँका केही झलक पाए । ‘विदेशीको भ्रमण एकदमै व्यवस्थित हुन्छ,’ भण्डारी भन्छन्, ‘उनीहरूले तपाईंलाई जे देखाउन चाहेको हो, त्यही देखाउँछन् । तपाईंको काम पंक्तिहरूबीचमा अर्थ खोज्ने हो ।’
उनले उत्तर कोरिया बाहिरी संसारबाट लुकेको देश पाए । ‘तपाईं राजधानी शहर प्योङयाङभित्र केही किलोमिटरको यात्रा गर्न सक्नुहुन्छ र कुनै पनि अर्को गाडी देख्न सक्नुहुन्न । गाडीमा हिँड्दा सैनिकहरू यताउता पैदल हिँडेको देख्न सक्नुहुन्छ ।’
सेनालाई समेत गाडीमा घुम्न नदिनुले उत्तर कोरियाली नेतृत्वलाई व्यावहारिक रूपमा फाइदा पु–याएको भण्डारीको विश्वास छ । ‘सैनिकहरू खासै गतिमान नहुनाले त्यो देशमा कूको सम्भावना छैन ।’
किम जोङ–उनको पूजा र एउटा सीमित भौगोलिक क्षेत्रभन्दा बाहिरको अनुभव बटुल्न नपाएका कारण उत्तर कोरियालीहरू वर्तमान नेतृत्वलाई जोगाइराख्नका लागि प्रतिबद्ध छन् भन्ने भण्डारीको विश्वास छ ।
अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रम तथा किम जोङ–उनको शासनलाई सिध्याउन तल्लीन रहेपनि भण्डारी अमेरिकाको कदममा व्यावहारिक कठिनाइहरू रहेको देख्छन् । ‘अमेरिकाले किमको तानाशाही ध्वस्त पारेपनि तानाशाहीलाई पूजा गर्ने जनतालाई कसरी व्यवस्थापन गर्छ ? उनीहरू त चीन र दक्षिण कोरियामा ओइरिन्छन् । अनि ती तालिम नलिएका तथा दिमाग भुटिएका मानिस हुन् । हामी अढाइ करोड मानिसको कुरा गरिरहेका छौं ।’