कतारका अघि गले खाडी मुलुक, १३ बुँदे माग फिर्ता लिए

434

बीबीसी

काठमाडौं — कतारलाई बहिष्कार गर्नमा अग्रणी भूमिका खेलेका खाडीका चार मुलुकले अघिल्लो महिना तेर्स्याएका १३ वटा माग फिर्ता लिएका छन् ।

कतारले यी माग पूरा गरिरहनु नपर्ने बताउँदै साउदी अरब, युएई, बहराइन र इजिप्टका कूटनीतिज्ञहरूले संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुराका क्रममा कतारले अब ६ बृहत् सिद्धान्त मान्नुपर्ने बताएका छन् ।

बृहत् सिद्धान्त अन्तर्गत आतंकवाद र अतिवादको सामना गर्ने प्रतिबद्धता कतारले गर्नुपर्ने उनीहरूले बताए । अनि भड्काउने काममा पनि कतार लाग्नु नहुने उनीहरूको माग छ ।

तर कतारले आफ्नो सार्वभौमसत्तामा जोखिम पुग्ने वा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने कुनै पनि उपाय आफूलाई स्वीकार्य नहुने बताउँदै छिमेकीहरूले लगाएको नाकाबन्दीको भर्त्सना गरेको छ ।

डेढ महिनाअघि कतारमाथि हवाई, जमीन र जल नाकामा नियन्त्रण गरिएपछि मानवीय संकट आएको थियो किनकि कतारले आफ्ना जनताको आधारभूत आवश्यकता पूरा गर्न निर्यातमा जोड दिन्छ ।

मंगलवार पत्रकारहरूसमक्ष संक्षिप्त कुराकानी गर्दै चार देशका कूटनीतिज्ञले वर्तमान संकट मैत्रीपूर्ण रूपमा समाधान होस् भनी आफूहरूले चाहेको बताए ।

संयुक्त राष्ट्रसंघमा साउदीका लागि स्थायी दूत अब्दुल्लाह अल–मूअल्लीमीले कायरोमा गत जुलाई ५ मा भएको चार देशका विदेशमन्त्रीको बैठकले ६ सिद्धान्तमाथि सहमति जनाएको र कतारीहरूलाई यो स्वीकार गर्न सजिलो हुने बताए ।

अल–जजीरा टीभी बन्द गर्नु नपर्ने तर टीभीबाट घृणा फैलिने सन्देश प्रसारण गर्न नहुने उनको भनाइ थियो ।