भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित स्विटी खोलामा बृहत खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
विन्दवासिनी बृहत लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १५ करोड ५० लाख रुपैयाको लागतमा निर्माण गर्न लागेको आयोजनाको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलन्यास गर्नुभयो ।
खानेपानीको चरम अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न उदेश्यले आयोजना सुरु गरिएको संस्थाका अध्यक्ष नकूल राउतले बताउनुभयो ।
खानेपानीको चरम अभाव भएको तत्कालिन ताथली गाविसको वडा नं. ४ देखि ९ सम्मका बासिन्दालाई विहान बेलुका खानेपानी वितरण गर्ने गरि आयोजना सुरु गरिएको उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष राउतले भन्नुभयो–“खानेपानी आयोजना अन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिने छ, आगामी २ वर्ष भित्र आयोजना पुरा गरेर पानी वितरण गर्छौ ।”
पहिलो चरणमा एक हजार २ सय घरधुरीलाई पानी वितरण गर्ने र बस्ति बढेसंगै दोश्रो चरणमा थप ३०० घरधुरी गरि एक हजार ५०० घरधुरीलाई पानी वितरण गरिने योजना रहेको छ ।
शिलन्यास कार्यक्रममा प्रजिअ पोखरेलले समय मै आयोजना सम्पन्न गर्न निर्देशन दिदै आयोजना पुरा नभए वा भ्रष्टाचार भएमा कारबाही गरिने बताउनुभयो ।
वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले खानेपानीको चरम समस्या झेल्दै आएका यहाँका बासिन्दाले आयोजना सम्पन्न भएपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।