नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित

539

काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्दै नेपालले तेस्रो जित निकालेको हो ।

सिंगापुरस्थित बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको सिंगापुर ४६ ओभर ५ बलमा अलआउट हुँदै १४६ रनमा समेटियो । नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि मध्य र अन्तिमक्रममा ब्याट्सम्यान चल्न नसक्दा सिंगापुरमाथी नेपालले रोमान्चक जित निकालेको हो ।

ओपनर रोशन रंगराजन र सिधान्तले पहिलो विकेटको लागि ४० रनको साझेदारी गर्दै सिंगापुरलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, रोशन २३ तथा सिधान्त २५ रनमा आउट भएपछि सिंगापुरको पारी धरासाय बनेको थियो  । ओपनरद्वय रोशन र सिधान्त आउट भएपछि क्रिजमा आएका सिंगापुरका हान्सुलदिप सिन्हानियाले ३२, सिन अग्रवालले २१ र युवराज सिंहले १९ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दिप लामिछानेले ४ तथा पवन शर्राफ र किशोर महतोले समान दुई दुई विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६८ रनको मध्यम स्कोर बनाएको थियो । खराब सुरुवात गरेको नेपालले दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारीसँगै सम्मानजनक स्कोर तयार गरेको थियो ।  २० रन जोड्दा पहिलो विकेट गुमाएको  नेपालले मात्र ७४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेल र ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर, रोहित १५ रनमा आउट हुदा नेपालले ११५ रन बनाउदा पाँचौ विकेट गुमाएको थियो ।

सातौं विकेटको रुपमा ऐरी आउट हुँदा नेपालले १४४ रन बनाएको थियो । जारी छनोटमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका ऐरीले ८३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए । त्यसपछि नेपालले थप २४ रन जोड्दा अलआउट भयो ।  त्यस्तै नेपालका लागि सन्दिप सुनारले २६, प्रकाश केसीले २३  तथा रोहित कुमार पौडेलले  १५ रन बनाए । सिंगापुरको लागि बिक्रम विर विश्वरोयले ३ तथा आहन गोपीनाथ र आर्यम्यान सुनीलले समान दुई दुई विकेट लिए ।

योसँगै नेपालले सिंगापुरलाई लगातार दोस्रो खेलमा पनि पराजित गर्न सफल भएको छ । छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग पराजित भएको छैन ।

यो जितसँगै नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने गणितीय सम्भावना कायम राखेको छ । तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँगको हारले नेपालको विश्वकप छनोट सम्भावना गणितीय मात्र बाँकी रहेको छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ । नेपालले अब सोमबार मलेसिया र अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

छनोटमा नेपाल चार खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा ८  अंक जोडेर लिगको शिर्ष स्थानमा छ । डबल राउण्ड रोबिनका आधारमा ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ ।