भक्तपुर क्याम्पसका प्रमुख र उपप्रमुखलाई बन्दक बनाई कार्यकक्षमा तालाबन्दी

590

भक्तपुर– भक्तपुर बहुमुखी  क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आफ्नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सभापतिका लागि कार्यकक्षको माग गर्दै स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेललाई दुई घण्टा कार्यकक्षमा तालाबन्दी गरेको हो

कार्यकक्षको ढोका अगाडि टाँसिएको क्याम्पस प्रमुखको नाम रहेको बोर्ड समेत हटाएर त्यस ठाउँमा स्ववियु सभापतिको कार्यकक्ष लेखेर तालाबन्दी गरिएका हुन् । गत साउन ८ गते तालाबन्दी गरेपछि क्याम्पस प्रमुख डा. पोखरेल आजसम्म पनि आफ्नो कार्यकक्षमा प्रवेश नै गर्न नपाएपछि प्रशासन कक्षमा बसेर फर्कने गरेका छन् । क्याम्पस प्रशासनले स्ववियु सभापतिका लागि उपलब्ध गराएको कार्यकक्षमा नबसेर क्याम्पस प्रमुख बस्दै आएको कोठा नै माग गर्दा समस्या उत्पन्न भएको क्याम्पस प्रमुख पोखरेलले बताए ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघको संयुक्त प्यानलले स्ववियुको नेतृत्व सम्हाले पनि क्याम्पस प्रमुखमाथि भएको अपमानको भने नेविसंघ र अनेरास्ववियुले विरोध गरेका छन् ।
नेपाल विद्यार्थी संघका सचिव दीप गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पसलाई विद्यार्थी राख्ने कक्षा कोठा नभएको र एउटै कक्षामा ७५ जना विद्यार्थी कोचेर पढाउनुपर्ने बाध्यात्मक अवस्थामा क्याम्पस प्रमुखको कार्यकक्ष माग गरेर नाम बोर्ड नै हटाउनु अपमान भएको ठहर गरेको जनाएको छ ।

यता अनेरास्ववियुका अध्यक्ष सुवास तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहमतिमा स्ववियु कार्यकक्ष निर्माण गर्नुपर्नेमा क्याम्पस प्रमुख र उपप्रमुखलाई बन्दक बनाई क्याम्पस प्रमुखको बोर्ड हटाएर सभापतिको बोर्ड राखेकोमा आपत्ति जनाउँदै तत्काल नहटाए प्रतिकार गर्ने जनाएको छ ।

यता स्ववियु सभापति दिनेश खड्गीले भने, ‘क्याम्पस प्रमुखको कार्यकक्षमा हामीले तालाबन्दी गरेका होइनौं, बोर्ड भने हटाएर सभापतिको कार्यकक्ष लेखेका हांै ।’ क्याम्पस प्रमुखसँग स्ववियु सभापतिको कक्ष र बैठक कक्षको माग गरेको बताउँदै उनले मागको बेवास्ता गरेपछि सांकेतिक विरोध गरेको बताए ।