नगरकोट। स्थानीय तहका जनप्रतिनिधिहरुले बाहिर प्रचार गरिएजस्तै यथार्थमा स्थानीय तहलाई अधिकारसम्पन्न नबनाइएकोमा गुनासो पोखेका छन् ।
बिहीबार नगरकोटमा राष्ट्रिय युवा परिषद्को आयोजनामा भए ‘युवा लक्षित कार्यक्रम निर्माण र कार्यान्वयनमा स्थानीय तह र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भक्तपुर जिल्लाका नगरपालिकाका जनप्रतिनिधिहरुले त्यस्तो भनाई राखेका थिए ।
स्थानीय तहमा युवालक्षित कार्यक्रम समावेश गर्न युवा परिषद्ले गरेको आग्रहको जवाफमा उनीहरुले आफ्नो समस्या पोखेका थिए ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं ७ का अध्यक्ष उकेश कवांले स्थानीय तहलाई देशको कुल बजेटको ८५ प्रतिशत विनियोजन गरे देशको विकास तीब्र रुपमा हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले युवाहरुको विकासका लागि ख्वप विश्वविद्यालय स्थापनाको कार्यक्रम अघि ल्याएको तर शासक पार्टीहरूले संसदमा पुगेको विधेयकलाई अलमल गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले युवाहरुलाई सम्पदा संरक्षण र खेलकुदका सक्रिय बनाउन बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
अन्तरक्रियामा बोल्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले युवाहरुलाई विदेशमा पठाउन बन्द गरी देशको आत्मनिर्भर विकासले मात्र व्यापक नेपाली युवाहरुको हित हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमार्फत युवाहरुबीच अनेकन विकृति फैलिएको हुनाले सामाजिक सञ्जालमा सेन्सर लगाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालय तहको पाठ्यपुस्तकमै सामाजिक र सुुसंस्कृत बन्ने कुरा समावेश नभएको हुनाले युवाहरुबीच विकृति बढेको उहाँको भनाई थियो ।
युवा तथा खेलकुद मन्त्रालय युवा महाशाखा प्रमुख रामप्रसाद थपलियाले युवाहरुमा गरिएको खर्च लगानी हुने भएकाले सरकारले युवा क्षेत्रलाई लगानी बढाउन खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपाका प्रमुख सोम मिश्र, सूर्यबिनायक नपाका उपप्रमुख जुना बस्नेतलगायतले पनि बोल्नुभएको थियो ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुँगेलको सभापतित्वमा भएको कार्यक्रममा परिषद्का सदस्य सचिव मुक्तिसिं ठकुरीले पनि बोल्नुभएको थियो ।
परिषद्ले यसअघि काभ्रे, कास्कीलगायतका जिल्लाका जनप्रतिनिधिहरुसँग युवा लक्षित कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । परिषद् आगामी साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी दिइयो ।