चलचित्रमा कमेडियनको भूमिकाले निकै महत्व राख्छ । यही कारणले बलिउडदेखि साउथ फिल्म इन्डस्ट्रीसम्म बन्ने झन्डै प्रत्येक चलचित्रमा कोही न कोही कमेडियन अवश्यै हुन्छन् । बलिउडजस्तै साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा पनि कैयौँ प्रसिद्ध कमेडियन छन् । तीमध्ये ब्रह्मानन्दम सबैभन्दा चिनिएको नाम हो । उनले अहिलेसम्म १ हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । ब्रह्मानन्दमबाहेक पनि चिनिएका नाम छन्, जो साउथ इन्डियन चलचित्रका महत्त्वपूर्ण हिस्सा हुन् ।
साउथ इन्डियन चलचित्रको कुरा गर्दा यसमा तमिल, तेलुगु, मलायलम र कन्नड चलचित्रलाई समावेश गरिएको छ । यहाँ ‘भास्कर’ अनलाइनको रिपोर्टमा आधारित सामग्री प्रस्तुत गरिएको छ ।
(१) ब्रम्हानन्दम्
(पारिश्रमिक :प्रतिदिन ३ लाख भारु)
आफ्नो करिअरको सुरुआत एउटा सानो भूमिकाबाट गरेका ब्रह्मानन्दम् साउथ इन्डियन फिल्मका चिरपरिचित कमेडियन हुन् । कलेजमा उनी प्रायः विद्यार्थीलाई मिमिक्री गरेर हँसाउँथे । उनको पारिवारिक आर्थिक अवस्था दयनीय थियो । आफ्नो परिवारमा उनी एकमात्र व्यक्ति थिए, जसले एमएसम्मको शिक्षा लिएका थिए । तेलुगु चलचित्रका चिनिएका निर्देशक जन्ध्यालाले ब्रह्मानन्दमलाई ‘मोद्दाबाई’ नामको नाटकमा अभिनय गरिरहेको पहिलोपटक देखे । उनको अभिनयबाट प्रभावित भएपछि जन्ध्यालाले ‘चन्ताबाबाई’ नामको चलचित्रमा एउटा छोटो भूमिका अफर गरे । यसै चलचित्रबाट ब्रह्मानन्दम्को फिल्मी करिअर सुरुआत भयो । अहिलेसम्म ब्रह्मानन्दमले १ हजारभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । जीवित अभिनेतामध्ये सबैभन्दा बढी चलचित्रमा काम गर्ने अभिनेताका रूपमा उनको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’मा अभिलिखित छ । उनलाई भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानितसमेत गरेको छ ।
डेब्यु फिल्म : ‘चन्ताबाबाई’ (१९८६)
मुख्य चलचित्र : ‘बाबई होटल’ (१९९२), ‘यामालीला’ (१९९४), ‘प्रेमाकु वेलयारा’ (१९९९), ‘इवादी गोला वादिदी’ (२००५), ‘कृष्णा’ (२००८), ‘डुकुडु’ (२०११) ‘लोकयम’ (२०१४), ‘सराइनोडु’ (२०१६)
(२) बडिबेलु
बडिबेलु तमिल फिल्मका कमेडी स्टार हुन् । उनले स्लेपस्टिक कमेडीमा विज्ञता हासिल गरेका छन् । उनले अहिलेसम्म २७५ भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनलाई ‘भाइगाइ पुयाल’बाट पनि चिनिन्छ । अभिनयमा आउनुभन्दा अघि उनले एउटा सानो पसलमा काम गर्थे, जहाँ उनले ग्लास फ्रेम र फोटो पेन्टिङको काम गर्थे । त्यस क्रममा उनको मासिक आय केवल केही सय रुपैयाँमात्र थियो । राजकिरणले एउटा चलचित्रमा काम गर्ने अवसर दिएपछि उनको फिल्मी करिअरको सुरुआत भएको थियो ।
डेब्यु फिल्म : एन थंगै कल्याणी (१९८८)
मुख्य चलचित्र : सिंगारवेलन (१९९२), गोकुलम् (१९९३), करुथ्थाम्मा (१९९४) तमिजह सेलवन (१९९६), पुनथोत्तम (१९९८)
(३) अली बाशा
(पारिश्रमिक प्रतिदिन २ लाख भारु)
दक्षिण भारतीय कमेडियनको कुरा गर्दा अभिनेता अली बाशाको नाम पनि शीर्ष स्थानमा आउँछ । अलीले तमिल र तेलुगु मात्र होइन, हिन्दी चलचित्रमा पनि काम गरेका छन् । अलीको जन्म निकै गरिब परिवारमा भएको थियो । उनका पिता टेलर र आमा गृहिणी थिए । उनी चलचित्रमा राजमुन्दरी म्युजिकल कम्पनीका जितमोहन मित्राका कारण आएका हुन् । अलीले बाल कलाकारका रूपमा पनि कैयौँ चलचित्रमा काम गरेका छन् । उनको पहिलो चलचित्र सीठकोका चिलाका (१९८१) थियो, जसमा उनले बाल कलाकारको भूमिका गरेका थिए । अलीले कमेडी फिल्ममा आफ्नो एउटा पृथक् तरिका विकास गरेका छन्, जसलाई ‘छाता’को नामबाट चिनिन्छ ।
डेब्यु फिल्म : सीठकोका चिलाका (१९८१)
मुख्य चलचित्र : जम्बा लकिडी पम्बा (१९९३), हेलो ब्रदर (१९९४), घटोतकचुडु (१९९५), इडियट (२००२), देसमुदुरु (२००७)
(४) एमएस नारायणा
एमएस नारायणा तेलुगु फिल्मका कमेडी अभिनेता हुन् । २३ जनवरी २०१५ मा ६३ वर्षको उमेरमा मल्टिपल अर्गान फेल्युरका कारण उनको निधन भएको थियो । नारायणाको अन्तिम चलचित्र उनको मृत्युपछि रिलिज भएको थियो । नारायणाले मात्र १७ वर्षको करिअरमा ७ सयभन्दा बढी चलचित्रमा काम गरेको दाबी गरेका थिए । ब्रह्मानन्दमले २० वर्षको करिअरमा ७ सयभन्दा बढी फिल्ममा काम गरेका थिए । यही हिसाबले आफ्नो नाम गिनिज बुकमा हुनुपर्ने दाबी उनको थियो ।
डेब्यु फिल्म : पेदरयुदु (१९९६)
मुख्य चलचित्र : समरसिम्हा रेड्डी (१९९९), आनन्दम् (२००१), अंदरिवाडु (२००६), डुकुडु (२०११), केव्वु केका (२०१३)
(५) गौंडामनी
तमिल फिल्म इन्डस्ट्रीका चर्चित कमेडियनको कुरा गर्दा ‘भेट्रान’ अभिनेतामा गौंडामनीको नाम आउँछ । गौंडामनी उर्फ सुब्रममणि करूपैय्या सन् १९३९ मा तमिलनाडुको बलागुंडापुरममा जन्मिएका हुन् । उनी आफ्नो कमिक टाइमिङका कारणबाट निकै प्रसिद्ध छन् । उनले तमिल फिल्मका अर्का कमेडियन सेंथिलसँग मिलेर निकै चलचित्रमा काम गरेका छन् । यी दुईको जोडी तमिल सिनेमामा ‘लोरेल र हार्डी’को नामबाट चर्चित छ । मनीलाई साउथमा ‘काउन्टर मनी’को नामबाट पनि चिनिन्छ । गौंडामनी फिल्ममा सन् १९६४ देखि सक्रिय छन् । तर, कैयौँ चलचित्रमा उनको नामले क्रेडिट पाएन ।
डेब्यु फिल्म : ‘१६ वयतिनिले’ (१९६४)
मुख्य फिल्म : देवी धरिसनम् (१९८०), नेतृक्कन (१९८१), आनंदा कुम्मी (१९८३), उदया गीतम् (१९८५) जग्गुभाई (२०१०), वाइमाई (२०१६)
(६) जयप्रकाश रेड्डी
तेलुगु फिल्म इन्डस्ट्रीका चर्चित कमेडियन अभिनेता हुन्, जयप्रकाश रेड्डी । उनी आफ्नो भर्सटाइल अभिनयका कारण चिनिन्छन् । उनले तेलुगु फिल्ममा कमेडीका साथै भिलेनको भूमिका पनि गरेका छन् । उनलाई तेलुगु चलचित्रमा जेपीको नामबाट चिनिन्छ । जेपीलाई तेलुगु फिल्म ‘समरसिम्हा रेड्डी’बाट चिन्न थालिएको थियो । पछि उनले ‘जयम मनदे रा’ र ‘चेन्नाकेशव रेड्डी’ जस्ता ब्लकबस्टर फिल्ममा काम गरे ।
डेब्यु फिल्म : ब्रह्मा पुथरुडु (१९८८)
मुख्य चलचित्र : बोब्बिली राजा (१९९०), आनन्दम् (२००१), सोन्थम (२००२), छत्रपति (२००५), किंग (२००८)
(७) संथानम्
संथानम्ले आफ्नो करियरको सुरुआत टिभी आर्टिस्टका रूपमा गरेका थिए । तर, चाँडै उनी तमिल फिल्ममा चिनिएको नाम बन्न पुगे । उनले सन् २००० मा टिभी शो ‘टी कडाई बेन्च’बाट करिअर सुरु गरेका थिए । पछि ‘लोल्लु सभा’ र ‘सगालाई भर्सेज रगालाई’ जस्ता सिरियलमा काम पनि गरे । अभिनेताका रूपमा उनले चलचित्र ‘मनमधन’ (२००४) बाट पहिचान पाए । यसपछि उनले कैयौँ चलचित्रमा अभिनय गरे ।
डेब्यु चलचित्र : ‘कधाल अजहिवाथिल्लाई’ (२००२)
मुख्य चलचित्र : फरवरी २०१४ (२००५), वल्लावन (२००६), जयमकोन्दान (२००८), चिक्कु बुक्कु (२०१०), सिरुथई (२०१०), ओरु कल ओरु कन्नडी (२०१२)
(८) करुणास
करुणास, तमिल फिल्मका प्रसिद्ध कमेडियन हुन् । उनले तमिलका कैयौँ चलचित्रमा शीर्ष अभिनेताका रूपमा काम गरिसकेका छन् । यसबाहेक उनी राम्रा गायक र संगीतकार पनि हुन् । उनको पूरा नाम करुणानिधि सेथु हो । उनले आफ्नो करिअरको सुरुआत सांगीतिक टेलिभिजनबाट गरेका थिए । निर्देशक बालाले उनको एउटा गीत सुने र उनलाई सन् २००१ मा आफ्नो ड्रामा फिल्म ‘नन्दा’मा काम दिए । करुणास चलचित्रबाहेक राजनीतिमा पनि सक्रिय छन् ।
डेब्यु चलचित्र : नंदा (२००१)
मुख्य चलचित्र : अप्रिल मादतिल (२००२), रागसियामई (२००३), वसुल रजा एम बीबीए (२००४), इधु काढल वरुम पारुवम (२००६), वल्लामै थरायो (२००७)
(९) जनगराज
जनगराज भेट्रान तमिल कमेडियन हुन् । उनी तमिल फिल्म इन्डस्ट्रीमा कमेडियन जोडी गौंडामनी र सेंथिललाई टक्कर दिन्छन् । उनले अहिलेसम्म सयभन्दा बढी तमिल चलचित्रमा कमेडियन र सहायक अभिनेताका रूपमा काम गरिसकेका छन् । सन् १९७२ मा निर्देशक के बालाचन्दरले उनलाई केही फिल्ममा छोटो भूमिका दिएका थिए । यद्यपि उनको करिअरले ८० को दशकमा मात्र गति लियो । यसै क्रममा उनले कैयौँ उत्कृष्ट चलचित्रमा काम गरे । जनगराजलाई उनको गज्जबको आवाज र भावभंगिमाका लागि चिनिन्छ । यद्यपि उनी चलचित्रमा त्यति सक्रिय छैनन् ।
डेब्यु फिल्म: सेवुप्पु विल्लु (१९७७)
मुख्य चलचित्र: निजलगल (१९८०), सिंधु भैरवी (१९८५), पलाईवाना सोलाई (१९८६), मुथल वसंतम (१९८६), राजाधिराजा (१९८९) अपूर्वा सगोधररगल (१९८९)
(१०) विवेक (विवेकानन्दन)
विवेक तमिल फिल्म इन्डस्ट्रीका सुपरिचित नाम हुन् । उनी कमेडियनबाहेक टिभी व्यक्तित्व, पाश्र्वगायक र अभियन्ता पनि हुन् । उनले कैयौँ टिभी शो होस्ट गर्नुका साथै थुप्रै प्रसिद्ध व्यक्तिसँग अन्तर्वार्ता लिइसकेका छन् । चेन्नई सेक्रेटरिएटमा काम गर्दा फुर्सदको बेला उनले मद्रास ह्युमर क्लबमा स्टेन्डअप कमेडियनका रूपमा प्रस्तुति दिन्थे । पछि उनले निर्देशक बालाचन्दरको चलचित्रबाट डेब्यु गरे । विवेकले अरुल सेल्वीसँग विवाह गरे । उनका तीन सन्तान छन् । विवेक सन् २००३ मा एक पेयपदार्थ कम्पनीका ब्रान्ड एम्बेस्डर पनि भए । उनले भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको निर्देशनमा ग्रिन ग्लोब प्रोजेक्ट पनि लन्च गरेका थिए । यो अभियान ग्लोबल वार्मिङका विषयमा थियो ।
डेब्यु फिल्म: मनातील उरुथी वेंडम (१९८७)
मुख्य चलचित्र: रन (२००२), प्रथिबन कनवु (२००३), अन्नियन (२००५), पलककट्टु (२०१५)
(११) सप्तगिरी
(पारिश्रमिक प्रतिदिन १.५ लाख भारु)
आन्ध्रप्रदेशको चित्तुर जिल्लामा बसोबास गर्ने अभिनेता सप्तगिरीको वास्तविक नाम वेंकट प्रभुप्रसाद हो । उनले निर्देशक भास्करको चलचित्र ‘परुगु’बाट करिअर सुरु गरेका थिए । उनलाई साउथका ‘मिनी ब्रह्मानन्दम्’ पनि भनिन्छ ।
डेब्यु फिल्म: पारुगु (२००८)
मुख्य चलचित्र : कृष्णाष्टमी (२०१६), शिवम् (२०१५), टेम्पर (२०१५), त्रिपुरा (२०१५)
(१२) रघुबाबु
(पारिश्रमिक प्रतिदिन १ लाख भारु)
रघुबाबु तेलुगु सिनेमाको चिरपरिचित नाम हो । उनले आफ्नो कमिक टाइमिङ उनका पिता गिरी बाबुबाट विरासतमा पाएका हुन् । गिरीबाबु आफैं साउथ फिल्मको प्रसिद्ध नाम हो । रघुबाबुलाई तेलुगु फिल्मका लागि नन्दी अवार्डबाट सम्मान गरिसकिएको छ । उनी निर्देशकका रूपमा आउने पनि चर्चा थियो ।
डेब्यु फिल्म: दोंगालु उन्नरु जगरथा (१९९०)
मुख्य चलचित्र: जैमिनी (२००२), कोदुकु (२००४), नायागन (२००५), मायाजालम् (२००६)
(१३) पोसानी कृष्णा
(पारिश्रमिक प्रतिदिन १.५ लाख भारु)
पोसानी कृष्णा मुरली सुब्बाराव अभिनेताका साथै लेखक र निर्देशक पनि हुन् । उनले १५० भन्दा बढी चलचित्र लेखिसकेका छन् । सन् २००९ मा उनी आन्ध्रप्रदेशको चिलाकलुरिपेटबाट एमएलएको चुनाव पनि लडिसकेका छन् । यद्यपि उनको पराजय भएको थियो ।
डेब्यु फिल्म: धर्मक्षेत्रम् (१९९२)
मुख्य चलचित्र: अथाडु (२००५), हेप्पी लाइफ (२०१६), सावित्री (२०१६), नायक (२०१३)
बाह्रखरी बाट