चरीदेखि प्रवीणसम्म : ‘इन्काउन्टर’ को समय ‘फिक्स्ड’ !

403

काठमाडौं– तीन बर्षयता राजधानीभित्रै प्रहरीको इन्काउन्टरमा तीनजना कुख्यात अपराधीको मृत्यु भएको छ ।

प्रहरीको इन्काउन्टरमा सोमबार कुख्यात लागुऔषध कारोवारी प्रवीण खत्रीको मृत्युभएसगै प्रहरी इन्काउन्टरमा मृत्यु हुने अपराधीको संख्या तीन पुगेको हो । संयोग नै मान्नुपर्छ ,तीनैजना साउन र भदौ महिनामा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

इन्काउन्टर १– तीन बर्ष अघि अर्थात २०७१ साउन २२ मा प्रहरीसँगको भिडन्तमा गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी चरीको मृत्यु भएको थियो । काठमाडौंको भीमढुंगा जंगलमा प्रहरीसँगको मुठभेडका क्रममा मारिएका चरीलाई त्यसवेला एमाले युवा संगठनले शहीद घोषणा गर्न माग गरेको थियो ।

इन्काउन्टर २– २०७२ भदौ ३ गते गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका थिए । सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच  काठमाडौको कपुराधारामा गोली हानाहान हुँदा घैटेको मृत्यु भएको थियो ।

इन्काउन्टर ३– २०७४ साल साउन २३ गते प्रहरीसँगको इन्काउन्टरमा लागुऔषध कारोवारी ललितपुर कुसुन्तीका  प्रवीण खत्रीको मृत्यु भएको छ । ३२ बषिय खत्री यसअघि पनि लागुऔषध कारोवारमा जेल परेका थिए । ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरीको जवाफी कारवाहीमा खत्रीको मृत्यु भएको हो ।RATOPATI