गुडिरहेकै मालबाहक गाडीबाट फिल्मी शैलीमा चोरी

310

चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित –

गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ। तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ। गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे। सामान झार्ने क्रममा आठ कार्टुन चुरोट गायब थियो। गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे। मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्याए। गाडी कतै रोकिएको पनि थिएन। तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो। हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो।

सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे। तर, गाडीको पछाडिको ढोका बन्द नै थियो। कतै खस्ने सम्भावना पनि थिएन। कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए। तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए।

दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो। उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे। महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्काे उजुरी आएको थियो। कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो। चुरोट त्यसैगरी बाटैबाट हराएको थियो।

सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्यो। उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे। त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त ?’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो। प्रहरीको अनुसन्धान शैली सही ठहरियो। सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे। नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्यो। सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए।

यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।