आठ महिनामै रामेछापबाट अख्तियारमा परे ३०७ उजुरी

223

 

 

रामेछाप : चालू आर्थिक वर्षमा रामेछाप जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३०७ वटा उजुरी परेको आयोगको कार्यालय प्रदेश ३ ले जनाएको छ।  आयोगका अनुसार चालू आर्थिक वर्षमा प्रदेश ३ मा परेका ७२९ उजुरी मध्ये ३०७ वटा उजुरी जिल्लाबाट परेका हुन। 

रामेछाप जिल्लाबाट परेका उजुरीमा स्थानीय तहले शिक्षा, स्वास्थ्य र विकास निर्माणका काममा कानुनी प्रक्रिया विपरीत गरेको रहेका छन।

 वन फडानी गरेको, नदीजन्य वस्तुको अवैध दोहन गरेको र जनप्रतिनिधिले अधिकारको दुरुपयोग गरेको जस्ता उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ३ की प्रमुख हेमकला पाण्डेले बताइन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ३ ले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा पाण्डेले जानकारी दिइन।

भ्रष्टाचार नियन्त्रणको लागि आयोगभित्रै र बाहिर पनि निर्ममतापूर्वक लागेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगका सचिव प्रदीपकुमार कोइरालाले बताए। ७८ लाख रुपैयाँ भ्रष्टचार गरेको अभियोगमा अख्तियारकै आयुक्तमाथि अनुसन्धान भइरहेको भन्दै आयोग बाहिर र आन्तरिक रूपमा पनि भ्रष्टाचार नियन्त्रण गर्न निर्ममतापूर्वक लागेको सचिव कोइरालाको भनाई छ।

अख्तियारका आयुक्त राजनारायण पाठकमाथि भ्रष्टाचारको मुद्दामा छानबिन भइरहेको छ। उनले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका संचालकबाट ७८ लाख रुपैयाँ लिएको सार्वजनिक भएपछि छानबिन शुरु भएको थियो।

रामेछाप जिल्लबाट परेका उजुरीहरू मध्ये २५५ वटाको फर्च्यौट भइसकेको र अन्य अनुसन्धानको प्रक्रियामा रहेको उनले जानकारी दिए। भ्रष्टाचार गर्ने जोकसैलाई पनि नछोड्ने उनको भनाइ थियो।

मन्थलीमा आयोजना गरिएको कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो।

Source link