भक्तपुर । चाँगुनारायण फाउण्डेशनले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान गर्ने घोषणा गरेको छ। फाउण्डेशनले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई जनही रु २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने जनाएको हो।
सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको फाउण्डेशनले विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले ‘विशेष सम्मान तथा नगद पुरस्कार’ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। फाउण्डेशनका अनुसार उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको सम्मानले गुणस्तरीय शिक्षाप्रति आकर्षण बढ्नुका साथै मेहनती विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
फाउण्डेशनले पुरस्कार प्राप्त गर्न इच्छुक योग्य विद्यार्थीहरूले उपलब्ध गराइएको QR Code स्क्यान गरी अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ। आवश्यक विवरण भरेर समयमै आवेदन दिन पनि अनुरोध गरिएको छ।
थप जानकारीका लागि चाँगुनारायण नगरपालिका–३, भक्तपुरस्थित फाउण्डेशनको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। साथै फोन नम्बर ९८५१३५०३८१ तथा इमेल cnfnepal3@gmail.com मार्फत पनि जानकारी लिन सकिने जनाइएको छ।
यस अभियानमा Social Development Nepal ले सहकार्य गरेको फाउण्डेशनले जनाएको छ।









































