इटालियन सिरी एमा युभेन्ट्सको अपराजित यात्रा जारी छ। आफ्नो २७ औँ खेलमा जित निकाल्ने क्रममा युभेन्टसले शुक्रबार उडिनेजेलाई ४–१ ले पराजित गर्यो। युभेन्टसको जितमा युवा खेलाडी मोइस किनले दुई गोल गरे।
खेलको ११ औँ मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले युभेन्टसलाई अग्रता दिलाएका थिए। ३९ औँ मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे।
किनले नै ६६ औँ मिनेटमा युभेन्टसको लागि पेनाल्टी प्राप्त गरे। पेनाल्टीलाई एमरे च्यानले गोलमा परिणत गर्दै टिमको फराकिलो जित निश्चित गरे। ब्लेस माटुइडीले ७१ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि युभेन्टसको अपराजित यात्रा कायम रहने पक्का भएको थियो। उडिनेजेका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभिन लासाग्नाले सान्त्वना गोल गरेका थिए।
रोनाल्डोलाई जारी सिजन पहिलो पटक युभेन्टसको लागि विश्राम दिएको थियो। सन् २०११ यता सबै लिग उपाधि जितेको युभेन्टस जारी सिजनपनि च्याम्पियन बन्ने पक्का छ। उसले शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको छ। अब युभेन्टसका लागि जित निकाल्न मंगलबारको खेल महत्त्वपूर्ण हुने छ। च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्नेछ। पहिलो लेगमा युभेन्टस २–० ले पराजित भएको थियो।




































