धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु, दर्जन बढि घाईते

398

जनकपुरधाम । धनुषा जिल्लाको सवैला नगरपालिकाको वडा नम्बर ४ कोठिया बल्टियामा शुक्रवार राती करिब सवा सात बजे जन्तीको बसमा विद्युत करेन्ट प्रवाह भएर ६ जनाको मृत्यु भएको र दर्जन बढी घाईते भएका छन् ।

 

मृत्यु हुनेहरुमा ३ जना पुरुष , २ जना महिला र एकजना बच्चा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जितपुर टोलबाट जन्ती आएको ना.५ ख १७५२ नम्बरको बसको छतमा राखिएको चदराको बाकसमा ११ हजार भोल्टको तारले छोएपछि बसमा करेन्ट प्रवाह भएको थियो ।

११ हजार भोल्ट प्रवाह भएको विद्युतको तार तल रहेकाले बाकसमा छोएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।जाडोको कारण बस भित्र रहेका जन्तीहरु भाग्न नसक्दा भित्रै मरेको बताईएको छ ।

घाईतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा पठाईएको प्रहरीले जनाएको छ ।घाईतेहरुको उद्धार कार्य जारी रहेको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार विहानै आएको जन्ती फर्किने क्रममा घटना भएको हो । ईलाका प्रहरी कार्यालय सबैलाका अनुसार बेहुला बेहुली सवार बस पूर्ण सुरक्षित रहेको छ ।

रामभरोस कुँवर दनुवारको छोरीको बिहा बिहान भएको थियो । बेलुका फर्किने क्रममा दुर्घटना भएको हो ।घाईतेहरु मध्ये राती ९ बजे ६ जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो ।

स्थानीय बासिन्दाहरुका अनुसार बसमा करेन्ट प्रवाह हुने वितिकै गुडिरहेको बस रोकिएको थियो ।बसमा करेन्ट लागेको हल्ला फैलिए लगतै जन्ती मध्येकै व्यक्तिले बिजुलीको तारलाई बासले हटाएपछि बस अगाडि बढेपछि सवार केहि मानिसहरु कुदेका थिए ।केहि मानिसहरुलाई भित्रबाट झिकेर उद्धार गरिएको थियो ।

घटनास्थलमा तत्कालै स्थानीय बासिन्दाहरु पुगेर उद्धारमा जुटेका थिए ।बेहुला बेहुली सवार अर्को बसमा रहेका जन्तीहरुपनि उद्धारमा खटिएका थिए ।घटना भए लगतै सशस्त्र प्रहरी घटनास्थलमा पुगेको र त्यसपछि नेपाल प्रहरी पुगेको स्थानीयहरुले बताए ।

घाईतेहरुको संख्या बढि रहेको र तत्कालै धेरै एम्बुलेन्स आउन नसकेको कारण घाईतेहरुलाई अस्पताल पु¥याउन केहि समय लागेको थियो । करेन्टले बसमा पनि समान्य क्षति भएकोछ ।