Home कृषि धान भित्र्याउने कामदार नपाउँदा भक्तपुरका किसान हैरान

धान भित्र्याउने कामदार नपाउँदा भक्तपुरका किसान हैरान

0

भक्तपुर । धान पाकेर खेत पहेँलपुर भइसक्दा पनि भित्र्याउनका लागि कामदार नपाएपछि भक्तपुरका किसान समस्यामा परेका छन् । दसैँ आसपास धान काट्ने, चुट्ने र पराल थन्क्याउने चटारो बढे पनि पर्याप्त कामदार नपाउँदा किसानलाई पाकेको धान भित्र्याउन सकस परेको हो ।

भक्तपुरका विभिन्न क्षेत्रमा धान पाकेर काट्ने बेला भइसकेको छ । तर, कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभावका कारण किसानले समयमै धान काट्न र घरसम्म ल्याउन कठिनाइ भोगिरहेका छन् । चाडपर्वका बेला कामदारको माग बढ्ने तर गाउँघरमै काम गर्ने मानिस कम हुँदै जाँदा धान भित्र्याउने काम प्रभावित भएको किसानको गुनासो छ ।

धान काट्ने, खेतबाट बोकेर वा अन्य माध्यमबाट घरसम्म ल्याउने तथा पराल थन्काउने कामका लागि कामदार खोज्दा पनि नपाइने समस्या बढ्दै गएको छ । केही किसानले परिवारका सदस्य र आफन्तको सहयोगमा धान काट्ने काम गरिरहेका छन् भने केहीले उपलब्ध कृषि उपकरणको प्रयोग गरिरहेका छन् ।

यस वर्ष दसैँको समय र धान पाक्ने समय एकैपटक परेकाले किसानलाई चाडपर्व मनाउनेभन्दा पाकेको बाली कसरी सुरक्षित रूपमा भित्र्याउने भन्ने चिन्ता बढी भएको छ । मौसममा परिवर्तन भई वर्षा भएमा काट्न बाँकी धान खेतमै भिज्ने र उत्पादनमा क्षति पुग्ने जोखिमले किसानलाई थप दबाब परेको छ ।

पछिल्लो समय कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै गएको छ । वैदेशिक रोजगारीप्रतिको आकर्षण, गाउँबाट सहरतर्फको बसाइँसराइ र परम्परागत अर्मपर्म प्रथामा आएको कमीले खेतीपातीका काममा जनशक्ति जुटाउन कठिन हुँदै गएको किसानहरू बताउँछन् ।

धान काट्नका लागि हाते मेसिन तथा अन्य कृषि उपकरणको प्रयोग बढे पनि सबै किसानको पहुँचमा आधुनिक प्रविधि पुग्न सकेको छैन । उपकरण उपलब्ध भएका ठाउँमा समेत समयमै प्रयोग गर्न नपाउँदा किसानले समस्या भोग्नुपरेको छ । धान झार्ने काममा थ्रेसरको प्रयोग हुने गरे पनि काट्ने, बोक्ने र पराल व्यवस्थापन गर्ने कामका लागि भने अझै जनशक्तिमै निर्भर रहनुपर्ने अवस्था छ ।

धान भित्र्याउने समयमै कामदार नपाउने समस्या समाधान गर्न कृषि यान्त्रिकीकरणलाई सहज र सुलभ बनाउनुका साथै किसानलाई आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने देखिन्छ । साथै, सामूहिक खेती तथा कृषि उपकरण साझेदारीको व्यवस्था गर्न सके किसानलाई धान भित्र्याउने चटारोमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

कृषिमा काम गर्ने जनशक्ति घट्दै जानु र आधुनिक उपकरणमा सबै किसानको पहुँच नपुग्नुले परम्परागत खेती प्रणाली थप चुनौतीपूर्ण बन्दै गएको छ । समयमै बाली भित्र्याउन नसक्दा उत्पादनमा क्षति पुग्ने जोखिमसमेत बढेकाले किसानले यस समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।