संखुवासभा । गत भदौ १ गते लागु भएको नयाँ मुलुकी संहिता पछि संखुवासभामा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या बद्धि भएको छ ।
नयाँ लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने भएपछि पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका हुन् । नयाँ मुलुकी संहिता लागु भए पछि सम्बन्ध विच्छेदका लागि भन्दै २४ जना पुरुषहरूले जिल्ला अदालत चैनपुरमा मुद्दा दर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को माघ १७ गते सम्ममा अदालतमा २४ जना पुरुष र ३६ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतले भने मुलुकी अपराधसंहिता लागू भएपछि मात्रै पुरुषले सम्बन्ध विच्छेदका लागि भन्दै मुद्दा दर्ता गराएका बताए । न्यायाधीश राउतका अनुसार अंशसहित सम्बन्ध विच्छेदका लागि २३ मुद्दा दर्ता भएका छन् ।
नयाँ संहिता लागू भए पश्चात् पुरुषले गराएका २४ वटा सम्बन्ध विच्छेद मुद्दामध्ये अहिले एउटाको फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ । सम्बन्ध विच्छेदका लागि दर्ता भएका जम्मा ६० वटा मुद्दामध्ये २७ वटाको फैसला भएको बताइएको छ । अंशसहित सम्बन्ध विच्छेदका लागि परेका मुद्दामध्ये १६ वटाको फैसला भएको छ भने ७ वटा बाँकी रहेका छन् । मुलुकी अपराध एवं देवानी संहिता लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने क्रम बढेको जिल्ला अदालत चैनपुरले जनाएको छ ।
नयाँ मुलुकी देवानी संहिताले पत्नीले पतिको मन्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधान छ । पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने प्रावाधान मुलुकी संहितामा उल्लेख भएको पाइन्छ ।







































