Home समाचार पृथ्वी राजमार्ग भासिदा आवागमनमा सास्ती

पृथ्वी राजमार्ग भासिदा आवागमनमा सास्ती

1

तनहुँ  । तनहुँको आँबुखैरेनी गाउँपालिका –४ डम्पिङस्थित पृथ्वी राजमार्गमा सडक भासिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माण नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

सडक भासिएको स्थानमा एकतर्फी सवारी सञ्चालन हुँदा जाम बढेपछि प्रहरीले आलोपालो प्रणाली लागू गरेर सवारी आवागमन व्यवस्थित गर्ने प्रयास गरेको छ । मुग्लिन–आँबुखैरेनी सडकखण्डमा सवारीसाधनको चाप बढ्दा यात्रुले लामो समय जाममा बस्नुपर्ने समस्या भोग्दैआएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले सडकमा सवारी आवागमन सहज बनाउन प्रहरी परिचालन गरी आलोपालो प्रणालीबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार भासिएको सडकमा एकै पटक दुवैतर्फको सवारीसाधन सञ्चालन गर्दा आवागमनमा समस्या हुने भएकाले प्रहरीले आवश्यक सहजीकरण गरिरहेको छ । सवारीसाधनलाई पालैपालो सञ्चालन गरेर जाम व्यवस्थापन गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनीखण्ड राजधानी काठमाडौँलगायत विभिन्न स्थानबाट देशको पश्चिमी क्षेत्रतर्फ आवतजावत गर्ने सवारीसाधनका लागि महत्वपूर्ण मार्ग हो । यस खण्डमा सडक भासिएपछि सवारी सञ्चालन प्रभावित हुँदा यात्रु तथा चालकले असुविधा भोग्नुपरेको छ ।

सडक भासिएको लामो समय बितिसक्दा पनि पुनर्निर्माण नहुँदा समस्या दोहोरिने गरेको छ । प्रहरीले सवारी आवागमन व्यवस्थित र सहज बनाउन सहजीकरण गरिरहेको जनाएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीब श्रेष्ठले निर्माण कम्पनीलाई छिटो काम गर्न ताकेता गरिरहेको बताउनुभयो ।

पाँच वर्षको वारेन्टी रहेको ठाउँमा छ महिना बाँकी रहेको समयमा सडक पुनः भासिकाले निर्माण कम्पनीले नै बनाउनु पर्ने उहाँले जानकारी दिनुभयो ।