जनकपुरधाम : प्रदेश २ सरकारको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट तीनवटा ऐन संसदमा लाने तयारी गरेको छ। मन्त्रिपरिषदको बैठकले प्रदेश प्रशासनसम्बन्धी ऐन, प्रदेश वनसम्बन्धी ऐन, प्रदेश उद्योगसम्बन्धी ऐन र प्रदेश पर्यटन सम्बन्धी ऐनसमेतलाई पारित गरेको हो। जसमध्ये प्रदेश प्रशासन ऐनलाई महत्वका साथ हेरिएको छ।
संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकारमार्फत राखी सर्वशक्तिमान बनाउने तयारी गरिरहेको आलोचना खेप्दै आएको संघीय सरकारविरुद्ध प्रदेश २ सरकारले प्रशासनसम्बन्धी ऐन ल्याएर आफ्नै मातहत प्रहरी राख्ने तयारी गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यसरी संघीय सरकारलाई चूनौति दिँदै प्रदेश सरकारले प्रदेश प्रशासन ऐन ल्याउने तयारी गरिएको चर्चासमेत चल्न थालेको छ।
मन्त्रिपरिषदको सम्पन्न बैठकले प्रदेश प्रशासनसम्बन्धी विधेयक पारित गरेको हो। उक्त विधेयक प्रदेशसभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरूको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालनसमेत गर्ने गरि ८ वटै जिल्लामा आफ्नै प्रशानिक अधिकारी राख्ने बाटो खुला हुनेछ। यसरी संघीय सरकारले आफ्नो मातहत राख्ने सिडियोको अधिकार प्रदेश सरकारले ल्याए पुनः द्वन्द्व हुने पक्का रहेको जानकारहरू बताउँछन्।








































