बलिउडका अग्रज कलाकार धर्मेन्द्रले आफ्नो कलाकारिता यात्रामा धेरै घामपानी खेपे। अहिले ८२ वर्षको उमेरमा बलिउडको पछिल्लो तौरतरिका र काम गर्ने शैली पनि नियालिरहेका छन्। यसै क्रममा उनले बलिउडबारे यस्तो टिप्पणी गरेका छन्, जुन कुरा अहिले जमिरहेका ठूला कलाकारलाई नपच्न सक्छ।
सधैं मनमौजी रुपमा प्रस्तुत हुने धर्मेन्द्रले दिल्लीमा एक निजी टेलिभिजन च्यानलको कार्यक्रममा बलिउडबारे मनको कुरा खुलेर भनेका छन्।
उनका अनुसार, पछिल्लो समय फिल्म उद्योग ‘तरकारी बजार’ बनेको छ, जहाँ कलाकारहरु पैसाको लागि जे गर्न पनि तयार हुन्छन्। उनले आजको फिल्मी दुनियाँ पहिलेभन्दा धेरै अलग र विकृत भइसकेको बताएका छन्।
तरकारी बजारमा तरकारी बेच्ने, खरिद गर्ने र सौदाबाजी भए जस्तै फिल्म उद्योगमा पनि त्यही अवस्था देखिएको उनको बुझाइ छ।
‘आज कलाकार पैसाको लागि जहाँ पनि नाचिरहेका छन्, जहाँ पनि गाइरहेका छन्। जहाँ पैसा छ, त्यहाँ गइरहेका छन्। तेल मालिस समेत गरिरहेका छन्। पैसाको जे पनि गर्न तयार छन्’, उनले भनेका छन्, ‘आज पैसा सबथोक बनेको छ। हाम्रो समयमा यस्तो थिएन।’
आफ्नो करिअरमा ३ सयभन्दा फिल्ममा अभिनय गरेका धर्मेन्द्रलाई ‘फूल और पत्थर’, ‘शोले’, ‘यादों की बारात’, ‘मेरा गांव मेरा देश’ र ‘चुपके चुपके’ जस्ता फिल्मको लागि चिनिन्छ।
कैयौं हिट फिल्म दिए पनि उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड भने पाउन सकेनन्। फिल्म फेयरले धर्मेन्द्रलाई करिअरको सुरुवातमा उत्कृष्ट प्रतिभाको लागि एक पुरस्कार र ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिएको थियो।
अवार्डको विषयमा उनी के भन्छन् त?
उनले भने, ‘म अवार्ड लिन गएको थिएँ। किनकि मलाई दिलीप कुमारले अवार्ड दिने भनिएको थियो। म दिलीप साबको निम्ति अवार्ड समारोहमा गएको थिएँ, नत्र मलाई फिल्मफेयरदेखि कुनै सरोकार थिएन। यो फिल्म उद्योगमा तपाईंलाई अवार्ड लिन आउनुपर्छ, मेरो त्यस्तो खुबी नै थिएन। मान्छेहरु अवार्ड पाउन अनेक हर्कत अपनाउँछन्।’
धर्मेन्द्र अभिनीत नयाँ फिल्म ‘यमला पगला दिवाना ३’ आगामी वर्ष रिलिज हुनेछ।







































