हेटौंडा — बागमती प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट बहुमतले पारित गरेको छ। बजेट पारित भएसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने कानुनी बाटो खुलेको छ।
शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०८३ बहुमतले तथा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख अप्सरा चापागाईंले विनियोजन विधेयक बहुमतबाट र अर्थसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो।
यसअघि विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्यहरूले मन्त्रालयगत बजेट र कार्यक्रमबारे आ–आफ्ना धारणा राखेका थिए। उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङसहित सम्बन्धित मन्त्रीहरूले दिनुभएको थियो।
प्रदेश सभा सदस्य ईश्वर सापकोटा, सिर्जना सायजू र रत्नप्रसाद ढकालले दर्ता गराउनुभएको खर्च कटौती प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ।
पारित बजेटअनुसार आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ (६५.६९ प्रतिशत) छुट्याइएको छ।
प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ कर राजस्व, ७ अर्ब ९३ करोड ९९ लाख १२ हजार रुपैयाँ अन्य राजस्व, १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ सङ्घीय वित्तीय हस्तान्तरण, १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष तथा विविध स्रोत र ९६ करोड रुपैयाँ ऋण लगानी फिर्ताबाट जुट्ने अनुमान गरेको छ।
यसैबीच चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बजेटमध्ये करिब ४७ अर्ब ९१ करोड १८ लाख ७६ हजार रुपैयाँ अर्थात् ७१ प्रतिशत खर्च हुने अनुमान प्रदेश सरकारले गरेको छ।







































