काठमाडौं । लामो समयदेखि सुस्त बनेको नेपाली घरजग्गा बजारमा पुनः चलायमान हुने सङ्केत देखिएको छ। ब्याजदरमा आएको कमी, बैंकिङ प्रणालीमा बढ्दो तरलता र लगानीकर्ताको विश्वास पुनः फर्किन थालेसँगै चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही अवधिमा कारोबार ४.१२ प्रतिशतले घटेको थियो।
प्रतिवेदनअनुसार लिखत पारितमार्फत हुने कारोबार ०.६२ प्रतिशत र राजीनामामार्फत हुने कारोबार १२.१७ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो क्षेत्रफल १०.८६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा देशभर एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कारोबारको मूल्य एक खर्ब रुपैयाँ मात्र रहेको थियो। घरजग्गा कारोबारबाट सङ्कलित राजस्व २३.३२ प्रतिशत तथा पुँजीगत लाभकर सङ्कलन ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा (आवासीय घरजग्गा कर्जासहित) पनि ५.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा वृद्धिदर ५.५२ प्रतिशत रहेको थियो।
बागमतीमा उच्च वृद्धि, मधेशमा गिरावट
प्रदेशगत तथ्याङ्कअनुसार बागमती प्रदेशमा घरजग्गा कारोबार सङ्ख्या सबैभन्दा धेरै ३८.०९ प्रतिशतले बढेको छ। विपरीत रूपमा मधेश प्रदेशमा भने कारोबार ८.५१ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा कारोबार वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.६८ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ। यद्यपि कारोबारको कुल मूल्य भने सातै प्रदेशमा बढेको छ। यसमध्ये बागमती प्रदेशमा कारोबार मूल्य १३१.१२ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
काठमाडौं महानगरमा दोब्बरभन्दा बढी कारोबार वृद्धि
महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार सङ्ख्या १०८.६२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.६१ प्रतिशत, वीरगञ्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत तथा विराटनगर महानगरपालिकामा २०.१२ प्रतिशतले वृद्धि भएको छ।
महानगरपालिकाहरूमा कारोबार भएको कुल क्षेत्रफल र कारोबार मूल्य दुवैमा वृद्धि देखिएको छ। विशेषगरी काठमाडौं महानगरपालिकामा कारोबारको कुल मूल्य २२३.२१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
उपमहानगरपालिकामा पनि सकारात्मक संकेत
देशका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा घरजग्गा कारोबार वृद्धि भएको छ। बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार बढेको छ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल ४२.७६ प्रतिशतले वृद्धि भएको छ भने कारोबारको कुल मूल्य १३४.४६ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले ब्याजदरमा आएको कमी, पर्याप्त तरलता र लगानीकर्ताको विश्वासमा सुधारसँगै लामो समयदेखि सुस्त रहेको घरजग्गा बजार पुनः विस्तारको चरणमा प्रवेश गर्न थालेको संकेत गरेको छ।







































