भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, आठ वर्षीय छोरा घाइते

11

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्दै आएकी सलिनामाथि बुधबार बेलुकी पौने ८ बजेतिर खुकुरी प्रहार भएको थियो । घटनामा संलग्न आरोपमा उनका श्रीमान ३८ वर्षीय विदुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घरायसी विवादका क्रममा विदुरले सलिनामाथि खुकुरी प्रहार गरेका थिए । घटनास्थलमै सलिनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

आमा–बुवाबीचको झगडा छुट्याउन गएका उनीहरूका आठ वर्षीय छोरासमेत खुकुरी प्रहारबाट घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । हाल ती बालकलाई प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।