३०० वर्ष पुरानो ‘हनुमान नाच’ २१ महिनापछि भव्य समापन

0

गलकोट । नेवारी समुदायको पहिचानसँग गहिरो रूपमा जोडिएको करिब तीन सय वर्ष पुरानो ‘हनुमान नाच’ २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ। नौ वर्षको अन्तरालपछि विसं २०८१ भदौ ११ गते पुनः शुभारम्भ गरिएको यो सांस्कृतिक नाच १९ पटक प्रदर्शन गरी मंगलबार बागलुङ बजारस्थित हनुमान पौवामा पुगेर समापन गरिएको हो।

हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठका अनुसार यसपटक नाच १९ पटक प्रदर्शन गरिएको र अब तीन वर्षपछि पुनः आयोजना गर्ने योजना बनाइएको छ। समापनअघि हनुमानको मूर्तिलाई बागलुङ बजार परिक्रमा गराई पुनः प्रतिस्थापन गरिएको थियो।

परम्पराअनुसार गालामा विभिन्न रङ पोतेका, शिरमा ‘श्रीराम’ लेखिएको रातो पट्टि बाँधेका, माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन लगाएका तथा पछाडि पुच्छर जोडिएका १३ जोडी युवाले १० विभिन्न तालमा नाच प्रस्तुत गर्छन्। नाचका क्रममा ‘वीर चढ्ने’ दृश्य विशेष आकर्षणका रूपमा रहने गर्दछ, जसले दर्शकलाई मन्त्रमुग्ध बनाउने गरेको छ। पूजाविधिको प्रभावले कलाकारहरू अचेत जस्तै हुने विश्वास गरिन्छ।

यस संस्करणमा १९ पटकको प्रदर्शनमा ४२ जना युवाको सहभागिता रहेको थियो। शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन, अतिथि स्वागत तथा विभिन्न स्थानमा गरिएको प्रदर्शनसँगै १४ टोलमा पूजा सम्पन्न गरिएको परिषद्ले जनाएको छ।

इतिहासअनुसार मल्लकालमा भक्तपुरबाट सुरु भएको यो नाच विसं १७६८ मा व्यापारका सिलसिलामा बागलुङ आएका नेवार समुदायले यहाँ संरक्षण गर्दै आएका हुन्। बीचमा हराएको यो परम्परा विसं २०१३ सालदेखि पुनः निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिनुभयो।

नाच प्रारम्भ गर्न बागलुङ नगरपालिका–३ नारायणचोकस्थित भीमसेन मन्दिरमा नास्योध्योलाई पूजा गरिन्छ भने त्यसपछि हनुमान पौवामा पूजा गरी औपचारिक रूपमा नाच सुरु हुन्छ। यसपटक नारायणचोकबाट सुरु भएको नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित १९ स्थानमा प्रदर्शन गरिएको थियो।

समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले हनुमान नाच बागलुङको सांस्कृतिक पहिचानको अभिन्न हिस्सा भएको उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो।

खर्चिलो र व्यवस्थापनमा जटिल हुँदै गएकाले पहिले प्रत्येक तीन वर्षमा देखाइने यो नाच विस्तारै पाँच, सात हुँदै हाल नौ वर्षको अन्तरालमा आयोजना हुन थालेको बताइएको छ।