Home मनोरञ्जन अरुण थापाको स्मृतिमा भक्तपुरमा श्रद्धाञ्जली कार्यक्रम हुने

अरुण थापाको स्मृतिमा भक्तपुरमा श्रद्धाञ्जली कार्यक्रम हुने

0

भक्तपुर । नेपाली सांगीतिक क्षेत्रका सदाबहार गायक तथा जादूमय स्वरका धनी दिवंगत गायक अरुण थापाको स्मृतिमा भक्तपुरमा गीत–संगीतमार्फत सम्झना, सम्मान तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ।

भक्तपुर सांगीतिक समाजको आयोजनामा हुने कार्यक्रम साउन ३० गते शनिबार दिउँसो १ बजे भक्तपुर श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा आयोजना गरिने भएको हो।

नेपाली गीत–संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका गायक थापाको अमर सांगीतिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा उनको स्मरणमा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

भक्तपुर सांगीतिक समाजले विगत ६ वर्षदेखि निरन्तर रूपमा अरुण थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले जानकारी दिनुभयो।

अध्यक्ष बज्राचार्यका अनुसार अरुण थापाको भौतिक शरीर हामीमाझ नरहे पनि उनका कालजयी गीत र जादूमय स्वरमार्फत उनी नेपाली संगीतप्रेमीको मनमा सदैव जीवित छन्। उनका गीतमा प्रेम, पीडा, जीवन, विरह तथा मानवीय संवेदनाका भाव अत्यन्त मार्मिक रूपमा अभिव्यक्त भएको उहाँले बताउनुभयो।

कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष शशी कस्पालका अनुसार कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका संगीतकर्मी, कलाकार, गीत–संगीतका पारखी तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ।

अरुण थापाका ‘चोट के हो, व्यथा के हो’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, ‘जति माया लाए पनि’, ‘साँझको जूनसँग’, ‘बितेका मेरा तीता–मीठा’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘अरूसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौ भने’, ‘नपोखिने नजोखिने’, ‘आँखाको निद खोसी लाने’ र ‘यो मनको के भर हुन्छ’ लगायतका गीत नेपाली संगीतप्रेमीमाझ आज पनि उत्तिकै लोकप्रिय छन्।

कार्यक्रममार्फत अरुण थापाको सांगीतिक योगदानलाई स्मरण गर्दै उनका कालजयी सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिने आयोजकले जनाएको छ। साथै, नेपाली संगीतका यी अमर गायकप्रति सम्मान तथा श्रद्धा व्यक्त गर्न सम्पूर्ण संगीतप्रेमी तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।