भक्तपुर । भक्तपुरमा अवैध रूपमा लुकाएर राखिएको हाब्रे (रेड पाण्डा)को छालासहित एक जना पक्राउ परेका छन्।
भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलको कोठा नम्बर ४०१ बाट प्रहरीले हाब्रे (रेड पाण्डा)को छाला बरामद गरेको हो।
प्रहरीका अनुसार २०८३ साउन २३ गते साँझ ५ बजे होटलको उक्त कोठामा अवैध रूपमा हाब्रेको छाला लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले होटलको कोठा नम्बर ४०१ मा चेकजाँच गर्दा दैलेख ठाटीकाँध गाउँपालिका–४ बस्ने २९ वर्षीय भुपेन्द्रबहादुर कठायतले लुकाएर राखेको अवस्थामा हाब्रे (रेड पाण्डा)को छाला फेला पारेको हो।
छाला बरामद गरेसँगै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले पक्राउ परेका कठायत र बरामद गरिएको हाब्रेको छाला साउन २४ गते डिभिजन वन कार्यालय, भक्तपुरमा बुझाएको जनाएको छ।
हाब्रे नेपालमा पाइने दुर्लभ तथा संरक्षित वन्यजन्तु भएकाले यसको अवैध सिकार, ओसारपसार तथा कारोबारमाथि कानुनी रूपमा प्रतिबन्ध रहेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया डिभिजन वन कार्यालयबाट अघि बढाइएको छ।








































