आजदेखि सुरु भयो अधिकमास (मलमास), असार १ गतेसम्म धार्मिक अनुष्ठान र मच्छेनारायण मेला

0

काठमाडौं — करिब प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने अधिकमास अर्थात् मलमास आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ।

ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीचको समय अन्तरलाई मिलाउन अधिकमास पर्ने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने शास्त्रीय मान्यता रहेको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल ले जानकारी दिनुभयो।

उहाँका अनुसार चान्द्र महिनामा दुईवटा सङ्क्रान्ति परेमा त्यसलाई “क्षयमास” भनिन्छ। ज्योतिषाचार्य भास्कराचार्यले आफ्नो प्रसिद्ध ग्रन्थ सिद्धान्त शिरोमणि मा अधिकमास र क्षयमासको स्पष्ट व्याख्या गर्नुभएको उल्लेख गरिएको छ। नेपालमा यसअघि २०२० सालमा क्षयमास परेको थियो।

धार्मिक मान्यताअनुसार अधिकमासलाई “पुरुषोत्तममास” पनि भनिन्छ। पुराणहरूमा वर्णन भएअनुसार भगवान् श्रीकृष्णले मलमासलाई आफ्नै नामसँग जोडेर “पुरुषोत्तममास” को सम्मान दिनुभएको विश्वास गरिन्छ। यही कारण यो महिनामा भगवान् विष्णु तथा नारायणको विशेष पूजा–आराधना गर्ने परम्परा छ।

अधिकमासमा के गर्ने ? के नगर्ने ?

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराई का अनुसार अधिकमासमा नियमित पूजा, जप, ध्यान, पाठ तथा पहिल्यैदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिन सकिन्छ।

तर विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माण, गर्भाधान तथा अन्य माङ्गलिक कार्य भने गर्न नहुने धार्मिक मान्यता छ। बृहस्पति र शुक्र अस्त भएका समयमा निषेध गरिएका कार्यहरू अधिकमासमा पनि नगर्न सुझाव दिइएको छ।

मच्छेनारायण मेलाको विशेष महत्व

अधिकमाससँगै काठमाडौं उपत्यकाको प्रसिद्ध धार्मिक स्थल मत्स्यनारायण मन्दिर मा विशेष मेला सुरु भएको छ। रत्नपार्कबाट करिब आठ किलोमिटर दक्षिणपश्चिम तथा कीर्तिपुरबाट चार किलोमिटर दक्षिणमा अवस्थित यस मन्दिरमा अधिकमासभर लाखौँ भक्तजन दर्शनका लागि आउने गर्छन्।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा रहेको मत्स्यनारायण मन्दिरमा पनि यो महिना भर मेला लाग्ने गर्दछ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी का अनुसार अधिकमास अवधिभर पुरुषोत्तममास माहात्म्य वाचन, नारायण पूजा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्।

मन्दिरमा सुनको जलप लगाइएको गरुडद्वार, माछाको मुखबाट प्रकट भएको चार हातयुक्त विष्णुको प्रस्तर मूर्ति तथा मत्स्य अवतारसँग सम्बन्धित धार्मिक महत्व रहेको छ। पुराणअनुसार भगवान् विष्णुले मत्स्य अवतार धारण गरी प्रलयकालमा वेदको रक्षा गर्नुभएको विश्वास गरिन्छ।

यसअघि २०८० सालको साउन महिनामा पनि अधिकमास परेको थियो। वैदिक सनातन धर्मावलम्बीहरूले अधिकमासभर घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने तथा कथा श्रवण गर्ने परम्परा कायम राख्दै आएका छन्।