कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

0

भक्तपुर । कानुन व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।

भक्तपुर बार एसोसिएसनको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताले विभिन्न बार एसोसिएसन, अदालत र कानुन व्यवसायीबीच आपसी सम्बन्ध थप सुदृढ बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले अदालत र बारबीच बढ्दो दूरी कम गर्न तथा एक बारदेखि अर्को बारसम्म सहकार्य, सद्भाव र पारस्परिक सहयोगको वातावरण निर्माण गर्न यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले जिल्ला बार एसोसिएसनहरूले आगामी दिनमा पनि खेलकुदसँगै व्यावसायिक तथा सामाजिक सम्बन्ध मजबुत बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीशहरू तथा विभिन्न जिल्लाका कानुन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्म गरी १४ टोली सहभागी भएका थिए। टोलीहरूलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल दुई हाफमा ७–७ मिनेट तथा नकआउट चरणका खेल १०–१० मिनेटका दुई हाफमा खेलाइएको थियो।

प्रतिस्पर्धात्मक फाइनलपछि नेपाल न्यायले उपाधि जित्न सफल भयो। भक्तपुर बार ‘ए’ उपविजेतामा सीमित रहँदा काठमाडौं बार ‘सी’ तेस्रो र भक्तपुर बार ‘बी’ चौथो स्थानमा रह्यो। विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले ट्रफी तथा सम्मानपत्र प्रदान गर्नुभयो।

प्रतियोगिता सम्पन्न गर्न नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज प्रा.लि., श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन प्रा.लि. लगायतका व्यावसायिक संस्था तथा कानुन व्यवसायी फर्महरूले सहयोग गरेका थिए। संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनरका रूपमा तथा मध्यपुर अस्पताल प्रा.लि. स्वास्थ्य पार्टनरका रूपमा सहभागी रहेका थिए।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताले कानुन व्यवसायी, अदालत र न्याय क्षेत्रसँग आबद्ध व्यक्तिहरूबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै स्वस्थ प्रतिस्पर्धा, आपसी विश्वास र सहकार्यको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।