काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस सभापति गगन थापामाथि गम्भीर आरोप लगाउँदै आवश्यक परे नयाँ राजनीतिक दल गठनका लागि समेत तयार हुन नेतृत्वलाई आग्रह गरेका छन्।
बिपी कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा गगन थापा अन्यत्रबाट सञ्चालित भएको बताएका कुरा अहिले आएर पुष्टि भइरहेको दाबी गरे।
“हामी अहिले सम्झिन्छौँ, गिरिजाप्रसाद कोइरालाले त्यसबेला गगन थापा कहीँबाट सञ्चालित छन् भन्नुभएको थियो। अहिले त्यो कुरा प्रमाणित हुँदै गएको छ, नाङ्गो आँखाले देखिँदै छ,” कार्कीले भने।
उनले गगन थापा आर्थिक रूपमा भ्रष्ट भएको र बाह्य गिरोहबाट सञ्चालित रहेको आरोपसमेत लगाए। साथै, गगन थापाले नियुक्त गरेका उपकुलपतिसम्बन्धी घटनाबारे आफूलाई जानकारी रहेको दाबी पनि गरे।
कार्कीले गगन थापा नेतृत्वले ‘प्रष्ट कांग्रेस’ र ‘भ्रष्ट कांग्रेस’ भनेर पार्टीभित्र विभाजनको रेखा कोरेको आरोप लगाउँदै, पैसा संकलनको विषयमा पनि प्रश्न उठाए। यद्यपि उनले यी आरोपका पक्षमा कुनै प्रमाण सार्वजनिक गरेका छैनन्।
कार्यक्रममा उनले पार्टीभित्र सहमतिको वातावरण नबने अलग पार्टी गठनको विकल्पका लागि पनि तयार रहनुपर्ने धारणा व्यक्त गरे।






































