‘जुनियर मिस्टर एण्ड मिस तराई’ चौथो सिजनको अडिसन सम्पन्न, फाइनलसम्मै अनलाइन भोटिङ नरहने

1

इटहरी/ बालबालिकाहरूको सौन्दर्यलाई मात्र नभई उनीहरूको बौद्धिकता र व्यक्तित्वलाई निखार्ने उद्देश्यसहित इटहरीमा ‘जुनियर मिस्टर एण्ड मिस तराई-२०२६’को चौथो संस्करणको सुरुवात भएको छ । युनिभर्सल डान्स स्टुडियो इटहरीको आयोजनामा “इन्टेलिजेन्स, पर्सनालिटी र ब्युटी” भन्ने नाराका साथ यस वर्षको प्रतियोगितालाई विगतभन्दा निकै फरक र परिष्कृत शैलीमा अगाडि बढाइएको छ ।

यही जेठ ८ गते शुक्रबार इटहरीको ‘चिया चौतारी’ र ९ गते शनिबार आयोजक ‘युनिभर्सल डान्स स्टुडियो’को हलमा पहिलो चरणको अडिसन सम्पन्न भयो । दुई दिन चलेको उक्त अडिसनमा इटहरी र यस आसपासका विभिन्न विद्यालयबाट ७० भन्दा बढी बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । अडिसनमा सहभागी बालबालिकाहरूले र्‍याम्प वाक, गायन, नृत्य तथा अभिनय जस्ता आ-आफ्ना लुकेका प्रतिभाहरू निर्धक्क प्रस्तुत गरेका थिए ।

उनीहरूको प्रस्तुतिको मूल्याङ्कन गर्दै फाइनल चरणका लागि उत्कृष्ट बालबालिकाहरू छनोट गरिएको छ । सम्पन्न अडिसनको निर्णायक मण्डलमा फेशन डिजाइनर तथा ‘कृषाज बुटिक’की सञ्चालिका कृषा गिरी, फेसन कोरियोग्राफर उमेश खड्का, जुनियर मिस्टर एण्ड मिस तराई तेस्रो संस्करणकी फर्स्ट रनरअप प्रकृति लिम्बू र जुनियर मिस्टर एण्ड मिस तराई तेस्रो संस्करणका विजेता अमृत विश्वकर्मा रहेका थिए ।

यस चौथो संस्करणको सबैभन्दा बलियो पक्ष भनेको ‘अनलाइन भोटिङ’लाई पूर्ण रूपमा निषेध गर्नु हो । आयोजक संस्थाकी सिईओ कृति भुजेलका अनुसार, अनलाइन भोटिङले विवाद सिर्जना गर्ने र वास्तविक प्रतिभा पछि पर्न सक्ने जोखिम भएकाले यसपटक भोटिङ सिस्टम राखिएको छैन । यसले विशुद्ध प्रतिभाको आधारमा मात्र विजेता तय हुने विश्वास दिलाएको छ ।

त्यस्तै, आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर जेनिश विकले यस सिजनमा सहभागीहरूलाई दिइने सुविधाहरूमा विशेष परिमार्जन गरिएको बताए । किताबी ज्ञानभन्दा बाहिर गएर दैनिक जीवनमा काम लाग्ने व्यवहारिक ज्ञानमा जोड दिइनेछ । सहभागीहरूले व्यक्तित्व विकास र पब्लिक स्पिकिङ, टेबल म्यानर्स र सेल्फ डिफेन्स, योगा र र्‍याम्प वाक, दन्त सेवा, छालाको हेरचाह र ट्राफिक नियम सम्बन्धी ज्ञान जस्ता कुराहरू को प्रशिक्षण दिइने छ ।

प्रतियोगितामा बालबालिकाहरूलाई दुई छुट्टाछुट्टै समूहमा विभाजन गरिएको छ । जुनियर समूह तर्फ ५ देखि ११ वर्षसम्म र सिनियर समूह तर्फ १२ देखि १६ वर्षसम्मका लाई प्रतिष्पर्धामा राखिनेछ । प्रतिस्पर्धामा भाग लिन चाहनेहरूका लागि आवेदन फारम शुल्क रु. ५०० तोकिएको छ । फारम आफ्नो विद्यालय वा युनिभर्सल डान्स स्टुडियोको कार्यालयबाट प्राप्त गर्न सकिनेछ । म्यानेजिङ डाइरेक्टर विकका अनुसार, पहिलो चरणमा छुट्नेहरूका लागि अन्तिम अडिसन यही जेठ १५ गते आयोजना गर्ने तयारी भइरहेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेहरूका लागि आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले गियर साइकल, नगद पुरस्कार, क्राउन र प्रमाणपत्रका साथै एक वर्षको डान्स कोर्स, म्युजिक भिडियो र फोटोसुटको अवसर, मिडिया फिचरिङ, फेसन सो, स्कुल ब्याग, जुत्ता र लाइफ इन्स्योरेन्सको सुविधा पाउनेछन् । यस्तै प्रथम र दोस्रो रनर-अपले नगद पुरस्कार, क्राउन र आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

यस संस्करणको मिडिया संयोजकको रूपमा सुवास संकल्प श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् भने भिडियोग्राफी तथा फोटोग्राफीको जिम्मा ‘परीकला फोटोग्राफी’ले लिएको छ । यस वर्ष पनि ‘जुनियर मिस्टर एण्ड मिस तराई’लाई भव्य र सभ्य रूपमा सम्पन्न गरी बालबालिकाहरूको लागि फेसन र मोडलिङको क्षेत्रमा उत्कृष्ट प्लेटफर्म प्रदान गर्न आयोजक टिम कटिबद्ध रहेको देखिन्छ ।