भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सञ्चालित सातदिने मिठाई बनाउने तालिम सोमबार सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य वीरेन्द्र जति को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई हासिल गरेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सुझाव दिइएको थियो ।
प्रमुख अतिथि जतिले तालिममा सिकेका सीपलाई सुरुमा घरमै अभ्यास गर्न आग्रह गर्दै तिहार, औंसीलगायत चाडपर्व तथा विशेष अवसरमा मिठाईका परिकार उत्पादन गरी बिक्री–वितरण गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
उहाँले खाद्य सामग्री उत्पादन गर्दा स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै पैसा कमाउने लोभमा अखाद्य सामग्री प्रयोग नगर्न सचेत गराउनुभयो । जनस्वास्थ्यप्रति जिम्मेवार भई गुणस्तरीय परिकार उत्पादन गर्नु सफल उद्यमीको पहिचान भएको उहाँको भनाइ थियो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ले सहभागीहरूलाई सीप हासिल गरेकोमा बधाई दिँदै सिकेको ज्ञानलाई व्यवहारमा उतारी सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्मा ले आर्थिक वर्ष २०८२/०८३ को बजेटअनुसार कार्यालयले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सीमित स्रोत–साधनका बाबजुद पनि सहभागीहरूले उत्साहका साथ तालिम लिएकोमा प्रशंसा गर्दै उहाँले तालिमपछि उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गरे उद्योग तथा वाणिज्य कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहबाट विभिन्न सेवा, सुविधा र अनुदान प्राप्त गर्न सकिने बताउनुभयो ।
सात दिनसम्म सञ्चालन भएको तालिममा नेपाली बजारमा अत्यधिक माग हुने परम्परागत तथा आधुनिक मिठाई बनाउन सिकाइएको थियो । तालिमका क्रममा सहभागीहरूलाई गुदपाक, पुष्टकारी, बर्फी, जेरी, लाखामरी, अनारसा, पुरी, लड्डु, खजुरी, रोट, लालमोहन तथा रसबरी बनाउने प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो ।
सहभागीहरूको तर्फबाट बोल्दै सानुमैयाँ बजिक्व ले सिकेको सीपलाई समुदायमा समेत बाँड्ने तथा सामूहिक रूपमा व्यवसाय सुरु गर्ने योजना रहेको बताउनुभयो । सीपलाई अझ परिष्कृत बनाउन आगामी दिनमा थप एड्भान्स तालिमको व्यवस्था गरिदिन आयोजकसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ का निवर्तमान अध्यक्ष प्रेम खर्बुजा ले स्वागत मन्तव्य राख्दै तालिमको औचित्य र महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । तालिमको सहजीकरण आशबहादुर सुवाल ले गर्नुभएको थियो ।









































