जुवा खेल्ने/खेलाउनेलाई कडा सजाय

406

काठमाडौं । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको मुलुकी ऐनले गरेको व्यवस्थामा अझ कडाइ पनि गरेको छ ।
जुवासँग सम्बन्धित विषयलाई पनि थप दण्डनीय बनाइएको छ । जुवालाई अपराध मानिएको छ । अब लागू हुने नयाँ मुलुकी अपराध (संहिता) ऐनमा जुवा खेल्ने/खेलाउने दुवैलाई कडा सजायको व्यवस्था गरिएको छ ।
पहिला जुवा खेल्ने/खेलाउनेलाई २०० रुपैयाँ जरिवाना र केही दिन हिरासतमा बसे पुग्नेजस्तो फितलो कानुन थियो । अब भदौ १ गतेदेखि भने जुवा खेल्ने/खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

भदौ १ गतेदेखि भने जुवा खेल्ने/खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

त्यस्तै दोस्रोपटक जुवा खेले/खेलाएको पाइएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र पटक–पटक पक्राउ परेमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।
नयाँ व्यवस्थाले आफू खालमा नरहे पनि अरुको हार वा जीतमा आफूले कुनै चल–अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत समेटेको छ ।
नयाँ ऐनले सट्टाबाजी गर्ने/गराउनेलाई निरुत्साहित गराउन उस्तै दण्डनीय बनाउँदै त्यस्तामा संलग्न हुनेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।