दुइटा वडाको एउटै कार्यालय : सेवाग्राही झुक्किएर हैरान

379

भक्तपुर : राजधानीसँग जोडिएको भक्तपुरमै एउटा नपाको दुइटा वडाको कार्यालय एउटै छ। प्रदेश नम्बर ३ को राजधानी दाबी गरिएको भक्तपुरमै भौतिक संरचना अभावले एउटै कार्यालयबाट दुइटा वडाको सेवा प्रवाह भइरहेको हो।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं १ र २ को एउटै वडा कार्यालय मात्रै होइन वडावासीलाई सेवा प्रवाह गर्ने कम्प्युटरसमेत एउटै छ। त्यस्तै, दुइटा वडाका अध्यक्षसमेत एउटै कोठामा बसेर वडावासीको काम गर्दै आएका छन्। दुइटा वडाका अध्यक्ष एउटै कोठामा हुँदा अधिकांश वडावासी झुकिँदै आएका छन्।

वडाध्यक्ष चिन्ने तथा वडाध्यक्षको टेबलमा लेखिएको नाम पढ्न जान्ने वडावासीलाई त समस्या छैन तर लेखपढ गर्न नजान्ने तथा आफ्नो वडाको अध्यक्ष नचिन्ने वडावासी आफ्नो काम लिएर जाँदा झुक्किँदै आएको वडा नम्बर २ का अध्यक्ष शिवहरि केसी बताउँछन्।

‘नौलो वडावासी काम लिएर आउँदा १ को २ का र २ को १ का वडाध्यक्षसम्म पुग्ने गर्छन्’, उनले भने, ‘निवेदन हेरेर आआफ्नो वडावासीको काम गर्दै आएका छौं।’

साविक दुवाकोट गाउँ विकास समितिको साँघुरो भवनबाट दुइटा वडाको कार्यालय स्थापना गरिएको हो। भक्तपुरलाई गाउँ विकास समितिरहित बनाउने क्रममा सुरुमा ६ वटा नगरपालिकामा बाँडिएको थियो। उक्त बेला उक्त कार्यालय चारवटा वडाको संयुक्त कार्यालय थियो। त्यसबेला जनप्रतिनिधिसमेत चुनिएका थिएनन्। वडासचिव एकै जनाले सबै वडाको काम गर्नुपर्ने बाध्यता थियो।

पुनः स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा ६ वटालाई पनि घटाएर चार वटा नपामा झारिएको थियो। जसअनुसार भक्तपुर र मध्यपुर थिमी नपा सिंगै रहँदा चाँगुनारायण र महामञ्जु श्री नगरकोट गाभिएर चाँगुनारायण नपा र अनन्तलिंगेश्वर र सूर्यविनाएर जोडिएर सूर्यविनायक नपा बने।

जसअनुसार चाँगुनारायण नपाका पाँच वटा वडा गाभिएर दुइटा वडा बनाइयो र उक्त दुई वडाको कार्यालय साविक दुवाकोट गाविस बन्न पुगेको हो।

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि नआउँदासम्म दुइटा वडा भए पनि पुनः एउटै वडासचिवबाट सेवा प्रवाह गरिँदै आएको वडाध्यक्ष केसी बताउँछन्। तर जनप्रतिनिधिहरु आएपछि काम बढ्ने देखेर नपामा कार्यरत दीपेश थापालाई वडा नम्बर १ को सचिवको रूपमा पठाइएको थियो। पहिले कार्यरत वडासचिव राकेश बासुकलाले भने दुई वडाको सचिवको जिम्मेवारीमा रहे।

वडासचिव फरक–फरक भए पनि अरू कर्मचारी नथपिँदा सेवा प्रवाहमा समस्या रहेको वडा नम्बर १ का अध्यक्ष राजेश खड्का बताउँछन्।

दुइटा वडाको सेवा प्रवाह गर्नुपर्ने उक्त कार्यालयमा कार्यालय सहायकका रूपमा मुकुन्द श्रेष्ठ कार्यरत छन्। उनी एक्लैले दुइटा वडावासीको कम्प्युटरबाट हुने सबै काम गर्नुपर्ने बाध्यता छ। त्यस्तै, कार्यालय सहयोगी सीता खत्रीले पनि दुइटै वडाको काम भ्याउनुपर्ने स्थिति छ।

ठाउँ अभावले वडा नम्बर १ को वडासचिव भएर आएका थापा दर्ता चलानी कोठामा बसेर काम गर्दै आएका छन्। थप जनशक्ति नहुँदा उनैले वडा कार्यालयमा आएको चिठीपत्र दर्ता गर्ने मात्रै होइन, आफैंले तयार गरेर वडाध्यक्षले हस्ताक्षर गरेको चिठीपत्रको चलानीसमेत काट्दै आएका छन्।

अझ प्राविधिक जनशक्ति नभएर कार्यालय साँघुरो हुन नपाएको २ नम्बरका वडाध्यक्ष केसी बताउँछन्।

‘नक्सापासलगायत काम गर्ने प्राविधिकसमेत वडामै बस्ने भए ठाउँ नै छैन’, उनले भने, ‘ठाउँ र कर्मचारी अपुग भए पनि जनताको कामलाई रोकेका छैनौं।’

उनले ठाउँ बढाउन र जनशक्ति थप्न नगर कार्यपालिकाको बैठकमा पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे।

नपाबाट सुनुवाइ नभएपछि वडा नम्बर १ मा स्थानीय दाताले निर्माण गरिदिएको सामुदायिक भवनमा वडा कार्यालय स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको वडाध्यक्ष खड्का सुनाउँछन्।

‘सामुदायिक भवनमा वडा कार्यालय सार्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘तर कर्मचारीको पूर्ति नभई तुरुन्तै सर्न सकिने अवस्था छैन।’

हुन त दुवाकोट गाविस हुँदै नयाँ भवन नबनाइएको हो। भवन विभागले बनाइएदिएको उक्त भवन प्रयोगविहीन अवस्थामै छ। उक्त भवन प्रयोगमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष केसी बताउँछन्।

तर, उनी पनि कर्मचारी पूर्ति नहुँदा सर्लक्क नयाँ भवनमा सर्न सकिने अवस्था नभएको दोहोर्‍याउँछन्।