भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०८२ सालमा गर्ने `नगरकाेट भ्रमण वर्ष २०८२´ का लागि वडा अध्यक्षदेखि पूर्वमन्त्रीसम्मले संयुक्त रूपमा बजेट माग गरेका छन् ।
पर्यटकीय नगरी नगरकाेटमा हुन लागेकाे साे भ्रमण वर्ष सफल बनाउन भक्तपुरको चाँगुनारायण,काभ्रेको मण्डन देउपुर र बनेपा, काठमाडौंको शंखरापुर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षकाे टाेलीले हेटाैंडा पुगेर बजेट माग गरेका हुन् । उनीहरूलाई प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे,सुरेश श्रेष्ठका साथै प्रदेश सभासदस्यद्वय माननीय किरण थापा र राजु विष्टलेसाथ दिएका छन् ।
हेटाैंडा पुगेको टाेलीले हिले जलजले ताल निर्माणका लागि रू १० कराेड र नगरकोट पर्यटन विकास समितिको बहुआयामिक भवन निर्माणका लागि रू २ कराेड विनियोजन गर्न संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशलाई आग्रह गरेका चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए ।
उनले नगरकोट क्षेत्रको बृहत्तर विकास र पर्यटन प्रवर्द्धनका साथ दिगो पर्यटन विकासमा देवा पुऱ्याउने उद्देश्यका साथ नगरकोट क्षेत्रका पालिका प्रमखु, उपप्रमुख, नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारीहरु, सम्बन्धित क्षेत्रका प्रदेश सदस्यहरुको संयुक्त बैठक बसी नगरकोट भ्रमण वर्ष, २०८२ मनाउने र उक्त भ्रमण वर्ष र बृहत्तर विकास र पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम तथा आवश्यक बजेट बिनियोजनको लागि अनुरोध गरिएकाे बताए ।
उनीहरूले देशकै प्रमुख पर्यटकिय क्षेत्र नगरकोटलाई वागमती प्रदेशको सरकारको नीति तथा कार्यकममा समावेश गरी ‘नगरकोट पर्यटन क्षेत्र समेत घोषणाको माग गरेका छन् ।
डेलिगेशनमा गएको टाेलीले बुझाएको ध्यानाकर्षण पत्रमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितका साथै उपप्रमुखहरू र वडा अध्यक्षहरू धन बाहदुर लामा तथा पर्यटन बिकास समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेकाछन् ।







































