काठमाडौं । १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीका अनुसार अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो।
प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिएको छ ।
सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।
हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए । जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ ।
मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए।
हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकिएको थिएन ।







































