पोस्तोल र २० थान गोलीसहित हेटौंडाबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा-९ का ३३ वर्षीय निश्चल पौडेल, ९ कै ३५ वर्षका गणेश घले र ३० वर्षका प्रितम क्षेत्री रहेका छन्।

उनीहरुको साथबाट राउण्ड सेभेन लेखेको एकथान पेस्तोल, पेस्तोलमा लाग्ने केएफ ७ लेखिएको ७५ एमएमको १९ राउण्ड गोली, ९ एमएमको एक राउण्ड गोली, हरियार सफा गर्ने एकथान रड, लागूऔषध खैरोहिरोइन २ ग्राम ४ सय मिलिग्राम र लागूऔषध तौल गर्ने डिजिटल तराजु दुई थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंसिर १८ गते रातको समयमा हेटौंंडा-९ कै सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएको घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले जानकारी दिए।
‘हेटौंडा-९ का सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार भएपछि गोली प्रहार गर्नेहरुको खोजी कार्यलाई तीव्र पारेका थियौं’, प्रहरी उपरीक्षक रिजालले भने, ‘उक्त घटनामा संलग्न तीनै जनालाई हेटौंडा-१० बाट पक्राउ गरिएको हो।’
उनीहरुको साथबाट ना २५ प ३३०५ नम्बरको युनिकर्न मोटरसाइकल, ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल, ५ थान मोबाइल, नगद ५० हजार र घटनामा प्रयोग भएको एकथान कपडा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरूमाथि आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता (प्रहरी नायब उपरीक्षक) लक्ष्मी भण्डारीले जानकारी दिए।








































