प्रहरीको ज्यादतिविरुद्ध लागे डिपो व्यवसायी

1162

भक्तपुर । बालुवा बोकेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि डिपो व्यवसायीहरु आन्दोलित भएका छन् । बालुवा बोकरे आएको २७ सवारीलाई गत १५ गते प्रहरीले नियन्त्रणमा लिएपछि त्यसविरुद्ध व्यवसायीहरु एक भएका छन् ।
बालुवा डिपो सञ्चालकहरुले सबै कानुनी प्रक्रिया पुर्याउँदा पनि प्रहरीले विनाकारण र पैसा खाने उद्देश्यले मालबाहक गाडी रोक्ने र बालुवा नियन्त्रणमा लिएर दुःख दिने काम गरेको उनीहरुको भनाइ छ । ‘सबै कागज पत्र भएता पनि बालुवा बोकेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर दुःख दिने काम गरेको छ, त्यसविरुद्ध हामी व्यवसायी नै लाग्नुपर्छ ।’ एक व्यवसायीले भने ।
उनीहरुले महानगरीय प्रहरी परिसरका प्रमुख र थिमि प्रहरी परिसरका प्रमुखको परिवर्तनसँगै हरेक वर्ष यस्तै समस्या हुने गरको बताउँदै बालुवा बोकेका सवारीलाई प्रहरीले कमाइ खाने भाँडो समेत बनाइरहेको आरोप लगाएका छन् । ‘हामीले कानून अनुसार कर तिरेका छौं, समन्वय समितिले दिएको स्विकृति अनुसारै बालुवाको कारोबार गरिरहेका छौं तर पनि बेलाबेलामा प्रहरी र प्रशासनले दुःख दिने गरेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने ।
महानगरीय प्रहरी परिसरका प्रमुख हिमालयकुमार श्रेष्ठले व्यवसायीहरुलाई विनाकारण दुःख दिने नगरिएको दाबी गर्छन् । उनले अवैध बालुवा कारोबार नियन्त्रण गर्नका लागि गरिएको प्रयासलाई दुःख दिएको ठान्न नहुने बताए ।
बालुवा नियन्त्रणमा लिएका सवारी साधन अवलोकन गर्न आएका जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले कानुनी प्रक्रिया अनुसार रसिद तिरेर बालुवा बोकेका सवारी फिर्ता गरिने बताए ।