भक्तपुर । तामाङ चलचित्रका ख्यातिप्राप्त कलाकार एवं निर्माता विकु थोकरले जन्म दिनको अवसरमा दुई अनाथ बालिकालाई छात्रवृत्ती वितरण गर्नु भएको छ । रोशी गाउँपालिका वडा नम्वर ८ का दुई अनाथ बालिकालाई उहाँले रु एक लाख १४ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्नु भएको हो ।
मुलुकमा बालिकाहरुमाथी बढदो हिंसालाई न्यूनिकरणको प्रयास स्वरुप बालिकालाई हिंसा हैन माया एवं साथ सहयोगको आवश्यकता रहेको छ भन्दै उहाँले दुई अनाथ बालिकालाई सक्षमताको लागि उक्त रकम प्रदान गरेको थोकर बताउनुहुन्छ ।
रोशी गाउँपालिकाकी निकिता तामाङ र निरुता तामाङ लाई थोकरले जनही सन्ताउन्न हजार रुपैंयाका दरले छात्रवृत्ती प्रदान गर्नु भएको हो । सानै उमेरमा करेन्ट लागेर आफ्ना अभिभावक गुमाउनुभएका तामाङ दिदी वहिनीलाई थोकरले माध्यमिक तह सम्म अध्ययन गर्न सहयोग गर्ने प्रतिवद्दता समेत गर्नु भएको छ ।
लामो समय देखि अनाथ एवं असाहाय बालवालिकालाई सहयोग गर्दै आउनु भएका थोकरले कहिले मृगौला पिडितलाई सहयोग गर्दै आउनु भएको छ भने कहिले अन्य रोग पिडितलाई सहयोग गर्दै आउनुभएको छ ।
यस्तै उहाँले आफ्नो जन्म दिनको अवसरमा मिसन नेपाल नामक संस्थालाई एघार हजार पाँस सय रुपैँया बराबरको अक्षयकोषको ब्यवस्था गरि दिनुभएको छ ।
लामो समय देखि विभिन्न रोगवाट पिडितहरुको सहयोगार्थ कार्यक्रम गर्दै पिडितहरुको ज्यान बचाउँदै आएको मिसन नेपाल नामक संस्थालाई उहाँले उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
सुदिन लामा दोङको अध्यक्षतामा रहेको उक्त संस्थाले हाल सम्म ८ जना विरामी एवं पिडितको सहयोगार्थ देश विदेशमा रहनुभएको दाजुभाई दिदी वहिनीहरुबाट सहयोग जुटाउँदै पिडितहरुको सहयोग गर्दै आएको छ ।
अवका दिनमा संस्थागत रुपमा नै अन्य पिडितको सहयोग तथा समाजलाई उत्थान गर्न सहज होस् र बढि भन्दा बढि विरामी एवं पिडितले सहयोग उक्त संस्थाले सकोस भनी आफूले उक्त रकम बराबरको अक्षयकोष स्थापना गर्न सहयोग गरेको थोकरले बताउनुभयो ।






































