भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयका अनुसार मिति २०८२ कार्तिक १५ गतेदेखि यो व्यवस्था लागू भएको हो ।
नगरपालिकामा अनुसार भक्तपुर नगरपालिका वडा नं. ४ बोलाछँदेखि राममन्दिर पुलपारिसम्म बिहान ७ः०० देखि १०ः०० बजेसम्म र दिउँसो ३ः०० देखि साँझ ७ः०० बजेसम्म सवारी साधन पुरानो नगर क्षेत्रबाट सूर्यविनायकतिर मात्र बाहिरिने गरी सञ्चालन हुनेछ ।
वडा नं. ३ बाराही पुलपारिबाट वंशगोपाल चोकसम्म बिहान ७ः०० देखि १०ः०० बजेसम्म र दिउँसो ३ः०० देखि साँझ ७ः०० बजेसम्म सवारी साधन विस्तारित नगर क्षेत्रबाट वंशगोपालतर्फ भित्रिने गरी सञ्चालन गरिनेछ । त्यसैगरी, दुईपाङ्ग्रे सवारी साधनलाई विगतमा जस्तै दुवै दिशाबाट निर्वाध आवागमन गर्न पाउने व्यवस्था यथावत् रहनेछ ।
नगरपालिकाले दमकल, एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारी साधनहरूलाई पनि निर्वाध आवागमनको व्यवस्था हुने स्पष्ट पारेको छ । साथै, सवारी साधन चलाउँदा गति सीमित राखी सुरक्षा सुनिश्चित गर्नुपर्ने नगरपालिकाको आग्रह छ ।






































