भक्तपुर । भक्तपुरमा भिजिट २०२० लाई लक्षित गरी भक्तपुरका युवा प्रशान्त कायस्थले द टिसा इन सञ्चालनमा ल्याएका छन् । भक्तपुर नगरपालिका वडा नम्वर १ दूधपाटीमा आज बाट सञ्चालनमा आएको द टिसा इन सुरु गर्दै कायस्थले होटलको नाफाको दश प्रतिशत नेपाल साहित्य मन्दिरलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
होटल तथा रेस्टुरेन्ट सञ्चालनबाट भएको आम्दानीको दस प्रतिशत साहित्य मन्दिरलाई दिने घोषणा गरेपछि कार्यक्रमका सहभागी वरिष्ठ कलाकार श्रेष्ठ, वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंग, भाषासेवी रमापतिराज शर्मा, कवयित्री प्रतिसरा सायमीलगायतले प्रशान्तको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त खुसीयालीमा कवयत्री प्रतिसरा सायमी आफै अघि बढेर होटल उद्घाटन कार्यक्रम सञ्चालन गरिन् ।
होटलको बिहीबार एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ लगायत वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ लगायत भक्तपुरका अधिकांश वरिष्ठ साहित्यकारहरुको उपस्थिती रहेको थियो । वरिष्ठ साहित्यकार तिलकप्रसाद प्रसान्तका पिता हुन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रहेका वरिष्ठ कलाकार श्रेष्ठले आफू व्यवसायिक कार्यक्रममा जाँदै नजाने व्यक्तिलाई होटल उद्घाटन गर्न बोलाउँदा सुरुमा अस्वीकार गरेको पछि साहित्य मन्दिरलाई सहयोग गर्ने जानकारी दिएपछि निम्ता स्वीकारेको जानकारी दिए ।
त्यस्तै वरिष्ठ साहित्यकार ग्वंगले होटलको नामबारे चर्चासमेत गरे । महिलाले लगाउने गहनालाई नेपालभाषामा ‘तिशा’ भनिन्छ । यसले नयाँ पुस्तालाई नेपालभाषाका शब्दबारे समेत जानकारी दिन ग्ंवगले सुनाए ।
तर होटलको नाउँ दुई अर्थमा राखिएको सञ्चालक प्रशान्तले सुनाए । उनले बुबा तिलकप्रकाशको पहिलो अक्षर ‘ति’ र आमा शारदाको पहिलो अक्षर ‘शा’ संयोजन गरेर तिशा नाम जुराएको बताए ।
‘महिलालाई लगाउने गहना र बुबाआमाको पहिलो अक्षर जोडेर आउने शब्द एउटै भएकाले तिशा नाम राखेको हुँ’, उनले भने, ‘एकातिर जन्म दिने बुबाआमाको पनि सम्मान भयो र अर्को्तिर नेवारी कलासंस्कृति र भाषाको संरक्षण पनि हुने भयो ।’
उनले होटल तयार गर्न एक करोड १० लाख रुपैयाँ लागेको जानकारी दिए । करिब दुईसय क्षमताको रेस्टुरेन्ट रहेको होटलमा हाललाई दसवटा कोठाको व्यवस्था गरिएको उनले सुनाए । ‘करिब ४० जना क्षमताको सेमिनार हलसमेत व्यवस्था गरेका छौं’, सञ्चालक प्रशान्तले भने, ‘रेस्टुरेन्ट आउने आमाबुबाको सजिलोको लागि किड्स जोनसमेत व्यवस्था छ ।’
भक्तपुरबाट पुरानो बाटो ठिमी हुँदै काठमाडौं जाने ९ नम्बर रुटमा चल्ने बसको बसपार्कसँगै होटल सञ्चालनमा ल्याइएको छ । त्यस्तै सरकारले घोषणा गरेको भिजिट २०२० पनि आउँदै छ । पछिल्लो समय भक्तपुरमा होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । यहीँबीच द तिशा इन सञ्चालनमा आउने सकारात्मक रहेको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले बताए ।
भक्तपुर पुग्ने पर्यटकहरुको तुलनामा भक्तपुरमा होटलहरुको संख्या कम भएको उनको भनाइ थियो । उनले होटल तथा रेस्टुरेन्ट व्यवसायबाट भएको आम्दानीको दस प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने डे तिशा भक्तपुरकै पहिलो होटल भएको समेत जानकारी दिए ।