भक्तपुरमा ११ दिने ‘ख्यालः मेला’ सुरु, १० वटा ख्यालः मञ्चन गरिने

राम शेखर नकर्मीका १० ख्यालः एक–एक दिन प्रस्तुत हुने, साउन १३ गते नेपाली भाषाको ‘तन्त्र टाब्लेट’ मञ्चन

0

भक्तपुर । नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ‘ख्यालः मेला (राम शेखरया ख्यालः ब्वज्या)’ साउन ९ गते शनिबारदेखि सुरु भएको छ भने उक्त ख्याल १९ गते मंगलबारसम्म भक्तपुरको लिवालीस्थित आस्था थियटरमा सञ्चालन हुने छ।

आयोजकका अनुसार मेलामा वरिष्ठ नाट्यकर्मी राम शेखर नकर्मीले लेख्नुभएका १० वटा ख्यालः प्रत्येक दिन एक–एक गरी मञ्चन गरिनेछ। अन्तिम दिन दर्शकको विशेष रुचि र मागलाई ध्यानमा राख्दै ‘खेल खत्तम’ पुनः मञ्चन गरिने कार्यक्रम रहेको छ।

मेलाको पहिलो दिन भक्तपुर साकोसको खेल खत्तम, ख्वप कलेजको छेरावती द्यः, स्टार वाचनालयको १२ बजे, बहुरङ्गी रंगकर्मी समूहको खुँयाता ज्वँ ज्वं, बाल विकास इङ्गलिस स्कुलको तन्त्र टाब्लेट, प्रभात माध्यमिक विद्यालयको खुँ, श्रमिक साकोसको तन्त्र टाब्लेट, नेक्राविसंघ भक्तपुर–१को टुरिष्ट गाइड, शहीद निर्मल–पुष्प स्मृति वाचनालयको अस्पतालया ज्या तथा जेँला सांस्कृतिक समाजको रानी पुखु मञ्चन गरिनेछ।

विशेष आकर्षणका रूपमा साउन १३ गते बाल विकास इङ्गलिस स्कुलको तर्फबाट नेपाली भाषामा प्रस्तुत हुने एकमात्र ख्यालः ‘तन्त्र टाब्लेट’ मञ्चन गरिने आयोजकले जनाएको छ। अन्य अधिकांश प्रस्तुति नेपाल भाषामा रहनेछन्।

आयोजकका अनुसार ख्याल प्रस्तुतीको उद्देश्य नेपाल भाषाको परम्परागत ख्यालः नाट्य विधाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको पहुँच विस्तार गर्नुका साथै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने साझा मञ्च उपलब्ध गराउनु रहेको छ ।

११ दिनसम्म सञ्चालन हुने यस मेलाले भक्तपुरको सांस्कृतिक तथा नाट्य गतिविधिलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ । ख्याल प्रत्यक दिन साँझ ५ बजे देखि प्रर्दशन भई रहेको आयोजकले जानकारी दिएको छ ।
शनिवार देखि संचालन भएको ख्याल मेलामा सहभागिता जनाउनु हुन आयोजकले आग्रह गरेको छ ।